विराटनगर । कोशी प्रदेशमा आगामी बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको मतदान सहज, सुरक्षित र व्यवस्थित गर्न साढे २५ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी गरी कुल २५ हजार ७ सय ६४ जना कर्मचारी खटिएका छन्।
प्रदेशमा १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र रहेका छन्। अस्थायी मतदानका लागि २४ वटा केन्द्र स्थापना गरिएको छ, जसबाट कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका मतदाताले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। स्थायी र अस्थायी मतदान केन्द्रलाई मिलाएर कुल ४ हजार २ सय ९४ मतदान केन्द्र सञ्चालन हुनेछन्।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी र सहयोगी परिचालन गरिएको छ। अधिकृत र सहायक अधिकृत ८ हजार ५ सय ८८ जना, सहायक कर्मचारी १२ हजार ८ सय ८२ जना र सहयोगी ४ हजार २ सय ९४ जना परिचालित छन्।
निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत १४–१४ जना तथा सहायक निर्वाचन अधिकृत २८ जना यसअघि नै नियुक्त गरिएका थिए। सबै मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेका छन्।
कोशी प्रदेशमा १४ जिल्ला र २८ निर्वाचन क्षेत्र छन्, जहाँ कुल ४९५ उम्मेदवार चुनावी मैदानमा छन्। मतदान केन्द्र निर्माण र आवश्यक व्यवस्थापनको कार्य पूरा भइसकेको र सबै मतपत्र, मतपेटिका, कर्मचारी तथा सुरक्षाकर्मी परिचालन भइसकेको छ।
निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने उद्देश्य राख्दै सुरक्षा निकायले मतदानस्थललाई ४ सय ३९ ‘अतिसंवेदनशील’, ८ सय २१ ‘संवेदनशील’ र ६ सय ४७ ‘सामान्य’ गरी वर्गीकरण गरेको छ। नेपाली सेनाले १ सय २० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरेको छ भने सम्भावित विस्फोटक वा शंकास्पद गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइरहेको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले मतदानको सुरक्षाका लागि संयुक्त गस्ती, चेकजाँच र निगरानी व्यवस्था थपिएको बताए।
कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३ सय १० मतदाता छन्, जसमा १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य मतदाता रहेका छन्।
निर्वाचन अधिकृतहरूले मतदातालाई सुरक्षित, भयरहित र व्यवस्थित वातावरणमा मतदान गराउने व्यवस्था मिलाइसकेको जनाएको छ।