चितवन । सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ का नन्दप्रसाद भट्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार, भट्टले फेसबुक लगायतका सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘फेक भिडियो’ बनाएर सार्वजनिक गरेका थिए। प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार, निर्वाचनको समयमा भ्रमपूर्ण अफवाह फैलाएर निर्वाचन गतिविधिमा प्रत्यक्ष असर पार्ने उद्देश्यले यस्तो कार्य गरिएको देखिन्छ।
भट्टलाई बुधबार भरतपुर महानगरपालिका वडा नम्बर १० बाट पक्राउ गरिएको हो। उनीमाथि अहिले थप छानबिन र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
निर्वाचन आयोग र सुरक्षा निकायले मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सामग्री पोष्ट गर्ने जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।