हवाई र स्थलमार्गबाट मतपेटिका संकलनको तयारी पूरा

0 Shares

काठमाडौं । निर्वाचन आयोगले हुम्ला र डोल्पासहित विभिन्न १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका संकलन गर्ने जनाएको छ। निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोगले दुर्गम जिल्लामा मतदान सामग्री र कर्मचारीसमेत हेलिकप्टरमार्फत पठाइएको जानकारी दिएको हो।

आयोगका अनुसार अन्य जिल्लाका निर्वाचन क्षेत्रबाट भने सवारी साधनमार्फत, सबै सुरक्षा संयन्त्रको समन्वयमा मतपेटिका संकलन गरिनेछ। सरकारले एकीकृत सुरक्षा योजनाअनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको आयोगले जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतपेटिका ढुवानीका क्रममा कुनै प्रकारको परिवर्तन हुन सक्ने अवस्था नरहेको दाबी गरिएको छ। “निर्वाचन सुरक्षामा कुनै परिवर्तन गरिएको छैन। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था छ,” उनले भने।

दुर्गम क्षेत्रका मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न सेनाका साधन प्रयोग गरिने जनाइएको छ। केही जिल्लाका मतदान केन्द्रबाट मतपेटिका संकलनका लागि सेनाको हेलिकप्टर प्रयोग गरिने भण्डारीले जानकारी दिए।

आयोगले विगतका निर्वाचनझैँ यसपटक पनि कडा सुरक्षा प्रबन्ध मिलाइएको र मतपेटिका संकलन प्रक्रिया पारदर्शी तथा सुरक्षित रहने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचारसबै