कुनै पनि मतदान केन्द्रमा अवरोध छैन:निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर

0 Shares

काठमाडौँ । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासपूर्ण वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य रोकिएको अवस्था नभएको र सबै स्थानमा सामान्यरूपमा सञ्चालन भइरहेको जानकारी दिएकी छन्। उनले मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन्।

डा. तुलाधरका अनुसार “आम मतदाताहरू एकदमै स्वतन्त्र रूपमा आफ्नो मतदान गरिरहेका छन्। अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा रोकावट वा अवरोधको अवस्था देखिएको छैन।”

निर्वाचन आयोगले यस पटकको मतदानमा सुरक्षा र समग्र व्यवस्थापनमा विशेष ध्यान दिएको बताउँदै आयुक्त तुलाधरले मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको र सम्पूर्ण व्यवस्थापन उत्कृष्ट तरिकाले सञ्चालन भइरहेको दाबी गरिन्।

उनले भनिन् कि आयोगले मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको छ ताकि सबै वर्ग र समुदायका नागरिकले सहजै मतदान गर्न सकून्। बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको भएकाले मतदातालाई समयमै मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मत खसाल्न आग्रह पनि गरिएको छ।– न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचारसबै