विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मोरङ जिल्लामा मतदान प्रक्रिया उत्साहजनक रूपमा अघि बढिरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म जिल्लाभर ४४.८२ प्रतिशत मत खसेको छ।
जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमा भइरहेको मतदानमध्ये मोरङ क्षेत्र नम्बर ५ मा सबैभन्दा धेरै ५०.९९ प्रतिशत मतदान भएको छ। अन्य क्षेत्रहरूको विवरणअनुसार क्षेत्र नम्बर १ मा ४८.८५ प्रतिशत, क्षेत्र नम्बर २ मा ४४.६० प्रतिशत, क्षेत्र नम्बर ३ मा ४२.८२ प्रतिशत, क्षेत्र नम्बर ४ मा ४२.२२ प्रतिशत र क्षेत्र नम्बर ६ मा ४१.७४ प्रतिशत मत खसेको छ।
जिल्लाभर रहेका ८८८ मतदान केन्द्रमार्फत हालसम्म ३ लाख ५० हजार ९३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। मतदान गर्नेहरूमध्ये १ लाख ७१ हजार ८८८ पुरुष र १ लाख ७९ हजार ४८ महिला मतदाता रहेका छन्। बिहानको तुलनामा दिउँसो मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उल्लेखनीय रूपमा बढेको देखिएको छ।
यसअघि बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ बजेसम्म २९.५५ प्रतिशत मात्र मत खसेको थियो। तर पछिल्लो केही घण्टामा मतदानको दर तीव्र रूपमा बढेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन आयोगले मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकेकाले जिल्लाभर खस्ने कुल मतको प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ। देशभर प्रतिनिधि सभाका २७५ सिटका लागि भइरहेको निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रलाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ। जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ र मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।