काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान स्थलमा मतपत्र हराएपछि मतदान प्रक्रिया प्रभावित भएको छ।
बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएसँगै मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो। मतदानस्थलमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि तनाव सिर्जना भएको र सो क्रममा मतपत्र खोसिएको बताइएको छ।
घटनापछि केही समय झडपसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। तनावका कारण त्यहाँको मतदान प्रक्रिया रोकिएको छ र समाचार तयार पार्दासम्म पुनः सुरु हुन सकेको छैन।
घटनामा ५६ बुक मतपत्र हराएको पुष्टि भएको छ। दोलखामा निर्वाचन सुरक्षाका लागि खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार हराएका मतपत्रको खोजी भइरहेको छ।
निर्वाचन आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएको मतपत्रलाई मुचुल्का गरी गणनामा समावेश नगर्ने व्यवस्था गरेर मतदान पुनः सुरु गर्न प्रस्ताव गरे पनि दलका प्रतिनिधिहरूले त्यसमा सहमति जनाएका छैनन्। विवादमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता संलग्न रहेको बताइएको छ।
हाल मतदान स्थल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान स्थल बाहिर भने मतदाताहरू मतदान गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्।