काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर माध्यमिक विद्यालय मतदान स्थलबाट लुटिएका मतपत्रमध्ये अधिकांश फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाका अनुसार उक्त मतदान केन्द्रबाट ५४ वटा मतपत्र लुटिएकोमा हालसम्म ४५ वटा मतपत्र फेला परेका छन्। बाँकी ९ वटा मतपत्रको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मतपत्र लुटिएको घटनापछि उक्त मतदान केन्द्रमा मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। घटनाका क्रममा मतदानस्थलमा खटिएका कर्मचारीमाथि हातपातको प्रयास भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो।
घटनापछि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यद्यपि दोलखाका अन्य मतदान केन्द्रहरूमा भने मतदान प्रक्रिया सामान्य रूपमा जारी रहेको छ।
निर्वाचन आयोगका अनुसार जिल्लामा दिउँसो ३ बजेसम्म ४१.८९ प्रतिशत मतदान भइसकेको छ।







