गोरखा । उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका अधिकांश साना मतदान केन्द्रमा मतदान प्रक्रिया समयअगावै सकिएको छ। ती केन्द्रहरूमा मतदाता संख्या कम भएकाले दिउँसोतिरै मतदान गर्न आउने क्रम बन्द भएको निर्वाचनमा खटिएका कर्मचारीहरूले बताएका छन्।
फिलिम आधारभूत विद्यालय पातीस्थित मतदान केन्द्रका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाका अनुसार उक्त केन्द्रमा रहेका १९८ मतदातामध्ये दिउँसो १२ बजेसम्म १३८ जनाले मतदान गरिसकेका छन्। त्यसपछि थप मतदाता नआए पनि निर्वाचन नियमअनुसार साँझ ५ बजेसम्म मतदान केन्द्रमै बस्नुपर्ने भएकाले कर्मचारीहरू केन्द्रमै कुरेर बसेका छन्।
यस्तै सिदुङ आधारभूत विद्यालय सस्र्युँमा रहेका १४५ मतदातामध्ये ८६ जनाले मतदान गरेपछि मतदाता आउन छोडेका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए।
त्यसैगरी क्वाक आधारभूत विद्यालय मतदान केन्द्रमा १०० मतदातामध्ये ४० जनाले मतदान गरेका छन्। छाक आधारभूत विद्यालयमा १११ मतदातामध्ये ५५ जनाले मतदान गरेपछि मतदाता आउन बन्द भएको मतदान अधिकृत रमेश ढकालले बताए।
साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा भने १०४ मतदातामध्ये बिहान ११ बजेसम्म २४ जनाले मात्र मतदान गरेका छन्। मतदान अधिकृत विजय श्रेष्ठका अनुसार जाडो छल्न काठमाडौँ लगायत अन्य जिल्लामा गएका केही मतदाता फर्कने क्रममा रहेको जानकारी प्राप्त भएकाले अन्तिम समयमा मतदान संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
चुमनुब्री–५ स्थित क्राक आधारभूत विद्यालयमा रहेका १३७ मतदातामध्ये ८० जनाले मतदान गरेपछि मतदाता आउन बन्द भएको मतदान अधिकृत बलराम श्रेष्ठले बताए।
यसैगरी बुद्ध हिमाली आधारभूत विद्यालयमा १३७ मध्ये ९०, चुम्लिङ आधारभूत विद्यालय चुम्चेतमा रहेका १७५ मध्ये ६९ तथा सिद्ध गणेश आधारभूत विद्यालयमा १७६ मध्ये ८४ मत खसेपछि मतदान गर्न आउने क्रम रोकिएको मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए।
त्यस्तै लार्केबजार स्वास्थ्य चौकी नाम्रुङस्थित मतदान केन्द्रमा भने दिउँसो १ बजेसम्म पनि मतदाता नआएको मतदान अधिकृत राजेन्द्र खनालले बताए। उक्त केन्द्रमा जिल्लाकै सबैभन्दा कम ७६ मतदाता रहेकामा हालसम्म २४ जनाले मात्र मतदान गरेका छन्।







