दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतपत्र लुटिएपछि रोकिएको मतदान पुनः सुरु भएको छ।
जिल्लाका अन्य मतदान केन्द्रहरूमा भने मतदान प्रक्रिया निरन्तर चलिरहे पनि उक्त केन्द्रमा मतपत्र लुटिएको घटनापछि मतदान केही समयका लागि स्थगित गरिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार सरोकारवालाबीच सहमति भएपछि अपराह्नबाट त्यहाँ पुनः मतदान सुरु गरिएको हो। उनले अन्य स्थानमा मतदान लगभग सकिने चरणमा पुगेको भए पनि यस केन्द्रमा ढिलो सुरु भएकाले मतदान राति ८ बजेसम्म पनि लम्बिन सक्ने बताए।
उक्त मतदानस्थलबाट ५४ वटा मतपत्र लुटिएको थियो। ती मतपत्रमा हस्ताक्षर नभएकाले मतदान प्रक्रिया तत्काल रोकिएको थियो। पछि लुटिएका मतपत्रमध्ये ४५ वटा फेला परेको र बाँकी ९ वटा मतपत्रलाई मान्य नगर्ने सहमतिसहित मतदान पुनः सञ्चालन गरिएको अधिकारीहरूले जनाएका छन्।
घटनाका क्रममा मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि हातपातसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो।
निर्वाचन आयोगका अनुसार दोलखामा दिउँसो ३ बजेसम्म ४१.८९ प्रतिशत मतदान भइसकेको थियो। घटनासम्बन्धी थप विवरण आउने क्रम जारी रहेको छ।







