प्रधानमन्त्री कार्की र कतार प्रधानमन्त्रीबीच टेलिफोन वार्ता:नागरिक सुरक्षा र शान्तिमा जोड

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्ता गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले कतारमा रहेका करिब ३ लाख ६० हजार नेपाली नागरिकको सुरक्षा र संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिन्। उनले भनिन्, “हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईं तथा तपाईंको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।”

प्रधानमन्त्री कार्कीले पश्चिम एसियामा बढ्दो तनावप्रति नेपालले नजिकबाट निगरानी राखिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिक सुरक्षा सुनिश्चित गर्न जोड दिइन्। उनले सबै राष्ट्रले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि र मानवीय कानुनको सम्मान र पालना गर्नुपर्नेमा पनि बल दिइन्।

प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिक माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने विश्वास व्यक्त गरेकी छन्। उनले दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने अपेक्षा व्यक्त गरिन्।

टेलिफोन संवादमा कतारका प्रधानमन्त्री अल थानीले नेपाल र कतारबीचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको प्रशंसा गरेका छन्। उनले कतारमा रहेका नेपाली नागरिकहरुको योगदान उल्लेख गर्दै उनीहरूलाई सुरक्षित राख्ने प्रतिवद्धता दोहोर्‍याए। अल थानीले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले सर्वभौमिकता र आत्मसुरक्षाका लागि मात्रै प्रयास गरेको जानकारी दिए।

अल थानीले नेपालले देखाएको मित्रता र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गर्दै कठिन परिस्थितिले चाँडै अन्त्य हुने आशा राखेका छन्। उनले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ र विस्तारित बनाउन आवश्यक रहेकोमा जोड पनि दिए।

सम्बन्धित समाचारसबै