गगन थापाद्वारा शान्तिपूर्ण निर्वाचनमा सरकार र सुरक्षा निकायलाई धन्यवाद

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्।

आजको निर्वाचन सकिएपछि जारी गरेको विज्ञप्तिमा सभापति थापाले भनेका छन्, “केही निर्वाचन क्षेत्रमा घटेका घटनाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सफल भएकोमा सरकार र आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं।”

उहाँले निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति बधाई समेत व्यक्त गर्नुभयो।

थापाले मतदाताको सक्रिय सहभागितालाई लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धताको अभिव्यक्ति भएको बताएका छन्। उहाँले मताधिकार प्रयोग गर्ने सबै नागरिकप्रति आफ्नो पार्टीको तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्नुभयो।

सभापति थापाले जनताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति विश्वास पुष्टि भएको र राजनीतिक दल तथा नयाँ सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको बताए।

उहाँले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति पनि धन्यवाद व्यक्त गर्नुभएको छ।

सम्बन्धित समाचारसबै