देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान शान्तिपूर्ण सम्पन्न

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो। मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म जारी थियो।

दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद भए पनि अन्यत्र मतदान सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।

प्रत्यक्ष प्रणालीतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरेका छन्। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

समानुपातिक प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानमा निर्वाचन भएको हो।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो। त्यसमध्ये १४३ अस्थायी मतदानस्थल पनि तय गरिएको थियो।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती मतदाताहरूलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो।

सम्बन्धित समाचारसबै