विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
मोरङ–४ को मतपरिणाम शुक्रबार राति र मोरङ–६ को मतपरिणाम शनिबार बिहान घोषणा गरिएको हो। दुवै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्।
मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यस्तै मोरङ–६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन्।
मोरङ–४ र ६ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न दल तथा स्वतन्त्र गरी कुल ३१ जना उम्मेदवारको जमानत जफत भएको छ। जमानत जोगाउनका लागि कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।
मोरङ–४ मा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे रास्वपाका राजवंशीसँग पराजित भएका छन्। घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत ल्याएका छन्। कांग्रेसका घिमिरे र नेकपाका मोदी भने जमानत जोगाउन सफल भएका छन्।
यस क्षेत्रमा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे ६ हजार ९३३ मतमै सीमित भएपछि उनको जमानत जोगिन सकेन। एमालेका घिमिरे र राप्रपाका माधव आचार्यसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ।
मोरङ–४ मा कुल ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ मत सदर भएको थियो। ५ हजार २५६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा बदर मतको संख्या उल्लेख्य देखिएको छ।
त्यस्तै, मोरङ–६ मा रास्वपाकी रुविना आचार्यसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पराजित भएका छन्। कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा जमानत जोगाउन सफल हुने उम्मेदवार कोइराला मात्र रहेका छन्।
तेस्रो स्थानमा रहेका एमालेका विनोद ढकाल ८ हजार ३१७ मतमा सीमित भएपछि उनको जमानत पनि जोगिन सकेन। मोरङ–६ मा एमालेका ढकाल, नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भएको छ।
ढकाललाई जमानत जोगाउन आवश्यक मतभन्दा थोरै मत अपुग भएको जनाइएको छ। नेकपाका राय भने १ हजार ७१६ मतमै सीमित भएका थिए।
मोरङ–६ मा कुल ८९ हजार ८४७ मत खसेकोमा ८५ हजार २३३ मत सदर भएको छ भने ४ हजार ६१६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा पनि उल्लेख्य मात्रामा मत बदर भएको देखिएको छ।