झापाका पाँचै क्षेत्रमा रास्वपा अग्रस्थानमा, ‘क्लिन स्वीप’को संकेत

0 Shares

झापा । झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक मतगणनामा उल्लेखनीय अग्रता कायम गरेको छ। हालसम्म सार्वजनिक मतपरिणामअनुसार पाँचै क्षेत्रमा रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेकाले जिल्लामा पार्टीको ‘क्लिन स्वीप’ हुने संकेत देखिएको छ।

झापा–५ मा रास्वपाका उम्मेदवार वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह करिब १७ हजार मतको फराकिलो अन्तरसहित अग्रस्थानमा रहेका छन्। उनले हालसम्म २२ हजार ७४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ५ हजार ८६४ मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङ २ हजार ६९३ मतसहित रहेका छन्।

त्यस्तै, झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ६ हजार ५३३ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बू १ हजार ८४१ मतसहित दोस्रो स्थानमा रहेका छन्।

झापा–३ मा पनि रास्वपाका प्रकाश पाठक १३ हजार ८४९ मतसहित अग्रस्थानमा रहेका छन्। उनका निकट प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ६ हजार ३०० मतसहित दोस्रो स्थानमा छन्।

यसैगरी, झापा–२ मा रास्वपाकी उम्मेदवार इन्दिरा रानामगर १३ हजार ६६९ मतसहित अग्रस्थानमा रहेकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरे २ हजार ३३९ मतसहित पछाडि रहेका छन्।

झापा–१ मा पनि रास्वपाकी निशा डाँगी प्रतिद्वन्द्वीभन्दा दोब्बरभन्दा बढी मतसहित अग्रस्थानमा छिन्। उनले १२ हजार ९०१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवलराम राई ३ हजार ६९२ मतसहित दोस्रो स्थानमा रहेका छन्।

हालसम्मको प्रारम्भिक मतपरिणामले झापामा रास्वपाको प्रभाव उल्लेखनीय देखिएको छ। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहे पनि पार्टीले पाँचै क्षेत्रमा अग्रता कायम राख्ने सम्भावना बलियो देखिएको छ।

सम्बन्धित समाचारसबै