काठमाडौँ । गुल्मी क्षेत्र नम्बर–१ को मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विजयी हुन लागेका उम्मेदवार सागर ढकाललाई अग्रिम बधाई दिएका छन्।
ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन्। उनले अपेक्षा नगरेको नतिजा आए पनि जनादेश नै सर्वोच्च हुने भएकाले त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने उल्लेख गरेका छन्।
उनले आफ्नो सन्देशमा रास्वपाका उम्मेदवार सागर ढकाललाई विजयको अग्रिम शुभकामना दिँदै आगामी दिनमा गुल्मी जिल्लाको विकासका लागि सहकार्यको अपेक्षा पनि व्यक्त गरेका छन्।
ज्ञवालीले जिल्लाका नागरिकहरूको सुख–दुःखमा सधैं साथ दिने प्रतिबद्धता जनाउँदै कठिन समय पनि बितेर जाने विश्वास व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशको अन्त्यमा ‘भवतु सब्ब मंगलम्’ लेख्दै सबैका लागि मंगलकामना गरेका छन्।
त्यसैगरी उनले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका छन्।
साथै निर्वाचनमा दिनरात खटिएका आफ्ना पार्टीका कार्यकर्ताप्रति गहिरो माया र सम्मान रहेको पनि उनले बताएका छन्।