डोल्पामा निर्वाचन रद्द गर्न माग गर्दै उजुरी, मतपत्रमा अर्धकट्टी भेटिएको आरोप

0 Shares

डोल्पा । हिमाली जिल्ला डोल्पामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन रद्द गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको छ।

काइके गाउँपालिका वडा नम्बर ४ र ५ को मतगणनाका क्रममा अर्धकट्टीसहितका केही मतपत्र भेटिएको भन्दै जिल्लाभरको निर्वाचन नै रद्द गर्न माग गरिएको हो। उक्त उजुरी नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी तथा एक स्वतन्त्र उम्मेदवारले संयुक्त रूपमा दिएका छन्।

उनीहरूले निर्वाचन प्रक्रियामा कर्मचारी संयन्त्रकै मिलेमतोमा गम्भीर त्रुटि भएको आरोप लगाएका छन्। आफूहरूले दिएको निवेदनमाथि उचित कारबाही नभए उच्च अदालतमा कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन्।

उजुरीमा मतगणनाका क्रममा पाँच वटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको अर्धकट्टीसहितको मतपत्र भेटिएको तथा थप सात वटा अर्धकट्टीहरू पनि फेला परेको उल्लेख गरिएको छ।

यस विषयमा मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले निर्वाचन आयोगको प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यविधिअनुसार विवाद समाधान गरिने बताएका छन्। उनका अनुसार कतिपय अवस्थामा मतदातालाई मतपत्र दिँदा भुलवश अर्धकट्टीसमेत दिएको हुन सक्छ।

मतगणनाको क्रममा यदि अर्धकट्टीसहितको मतपत्र फेला परेमा त्यस्तो मतपत्रलाई घोप्ट्याएर अर्धकट्टी अलग गर्ने र बाँकी मतपत्रलाई अन्य मतपत्रसँगै राखी गणना गर्ने व्यवस्था कार्यविधिमा रहेको उनले जानकारी दिए। साथै फेला परेको अर्धकट्टीलाई मुचुल्का तयार गरी सुरक्षित राख्ने व्यवस्था पनि रहेको उनले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस विषयमा सर्वदलीय बैठक बोलाएर विवाद समाधान गर्ने तयारी गरिएको जनाएको छ।

सम्बन्धित समाचारसबै