काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताएका छन्। उनले यस निर्वाचनमा निर्वाचन सुशासन कायम राख्न सफल भएको दाबी गरेका छन्।
निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षा कार्यक्रमपछि सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै गृहमन्त्री अर्यालले राजनीतिक सुशासनको आधार नै निर्वाचन सुशासन भएकाले यसपटकको निर्वाचनमा त्यो सुनिश्चित भएको बताए।
उनले वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउने उद्देश्यले नै गठन भएको उल्लेख गर्दै स्वच्छ, निष्पक्ष र समयमै निर्वाचन सम्पन्न गराएर सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने दिशामा काम गरेको बताए।
गृहमन्त्री अर्यालका अनुसार यस पटकको निर्वाचन हिंसारहित वातावरणमा सम्पन्न भएको छ। सुदृढ सुरक्षा व्यवस्थाका बीच निर्वाचन गराउने दायित्व सरकारले सफलतापूर्वक पूरा गरेको उनले बताए। साथै, कसैको नाममा अरूले मतदान गर्ने जस्ता अनियमितता पनि नभएको उनको दाबी छ।
उनले समयमै निर्वाचन सम्पन्न गराउन सरकारका सबै निकायबीच प्रभावकारी समन्वय भएको बताए। गृह मन्त्रालयको नेतृत्वमा सामूहिक नेतृत्वको अभ्यास गर्दै केन्द्र, प्रदेश र वडा तहसम्म एकीकृत सुरक्षा योजना कार्यान्वयन गरिएको उनले जानकारी दिए।
“हिंसा बिना निर्वाचन सम्पन्न भएको छ। सुदृढ सुरक्षा व्यवस्थाबीच निर्वाचन गराउने दायित्व सरकारले पूरा गरेको छ। यस पटक अरूको नाममा मतदान गर्ने घटना पनि भएन। समयमै निर्वाचन सम्पन्न गराउन सरकारका सबै अंग समन्वयात्मक रूपमा सक्रिय भए। गृह मन्त्रालयले सामूहिक नेतृत्वको अभ्यास गर्दै निर्वाचनलाई सफल बनायो,” उनले भने।
गृहमन्त्री अर्यालले निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले नेतृत्वदायी भूमिका खेलेको भन्दै आयोगप्रति धन्यवाद व्यक्त गरे।