काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम हुँदैछ। संसद् सचिवालयका अनुसार शपथ ग्रहण समारोह दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना गरिनेछ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।
राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा सम्पन्न भएको थियो। उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ। यसपटक २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि निर्वाचन भएको हो भने एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था रहेको छ। उक्त पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।
संसद् सचिवालयले शपथ कार्यक्रममा सहभागी हुन नवनिर्वाचित सदस्यहरूलाई औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन आग्रह गरेको छ। साथै निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक–एक प्रति साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
नेपाली भाषाबाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रति २४ फागुनभित्र संसद् सचिवालयमा बुझाउनुपर्ने जनाइएको छ।
निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको थियो भने नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको थियो। निर्वाचन परिणामअनुसार तालमेलबाट उम्मेदवारी दिएका अधिकांश उम्मेदवार विजयी भएका छन्।
नवनिर्वाचित सदस्यहरूमध्ये केही अनुभवी राजनीतिक व्यक्तित्वहरू पनि रहेका छन्। मधेश प्रदेशबाट निर्वाचित महन्थ ठाकुर, लुम्बिनी प्रदेशबाट निर्वाचित रामकुमारी झाँक्री, कोशी प्रदेशबाट निर्विरोध निर्वाचित सुनिलबहादुर थापा र कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही यसअघि प्रतिनिधिसभा सदस्यका रूपमा काम गरिसकेका नेताहरू हुन्।
मधेश प्रदेशबाट निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर पूर्व प्रतिनिधिसभा सदस्य हुन्। पटक–पटक प्रतिनिधिसभा सदस्य बनेका ठाकुर राजनीतिक जीवनको उत्तरार्धमा राष्ट्रिय सभा सदस्य बनेका छन्।
लुम्बिनी प्रदेशबाट निर्वाचित रामकुमारी झाँक्री पनि पूर्व प्रतिनिधिसभा सदस्य हुन्। उनी २०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् भने २०७९ को निर्वाचनमा पराजित भएपछि यसपटक राष्ट्रिय सभा सदस्य बनेकी हुन्।
त्यस्तै कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधान सभाका पूर्व सदस्य हुन्। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित भई नेपालको संविधान २०७२ निर्माण प्रक्रियामा सहभागी भएका थिए।
कोशी प्रदेशबाट निर्वाचित सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा का पुत्र हुन्। उनी यसअघि संघीय सांसद तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
कोशी प्रदेशबाटै रोशनी मेचे पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्। उनी सीमान्तकृत मेचे समुदायकी प्रतिनिधि हुन्।
यसैगरी मधेश प्रदेशबाट नेपाली कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण तथा एमालेकी रेखा झा निर्वाचित भएका छन्। पासवान दलित अधिकारकर्मी हुन् भने कर्ण नेपाल विद्यार्थी संघ का पूर्व केन्द्रीय अध्यक्ष हुन्।
बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेम दंगाल निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा विजयी भएका छन्।
लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् भने कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाहीसँगै एमालेकी मिना रखाल निर्वाचित भएकी छन्।
त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी निर्वाचित भएका छन्। खाती नेपाल बार एसोसिएसन का पूर्वमहासचिव तथा पूर्वमहान्यायाधिवक्ता हुन् भने भण्डारी माओवादी पृष्ठभूमिबाट राजनीतिमा सक्रिय नेतृका रूपमा परिचित छन्।
यससँगै नवनिर्वाचित सदस्यहरूको शपथपछि राष्ट्रिय सभाको नयाँ संरचना औपचारिक रूपमा कार्यरत हुने संसद् सचिवालयले जनाएको छ।