विराटनगर । ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘परिवर्तनका लागि एकता अभियान’ले विराटनगरमा यस वर्ष नारी दिवसलाई फरक र अर्थपूर्ण ढंगले मनाएको छ। औपचारिक कार्यक्रम र सेमिनारमा सीमित नहुँदै अभियानले समाजका विभिन्न वर्गसम्म पुगेर शुभकामना आदानप्रदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ।
अभियानका संयोजकको नेतृत्वमा दिनभर विभिन्न स्थानमा पुगेर सडकमा रहेका असहाय महिला, वृद्धाश्रममा आश्रित आमा बुवा तथा अस्पतालमा रहेका सुत्केरी महिलासँग भेटघाट गर्दै सम्मान र सहयोग कार्यक्रम सम्पन्न गरिएको अभियानता मौ. जमशेद आलमले बताएका छन् ।
कार्यक्रमअन्तर्गत सडक किनारमा जीवन बिताइरहेका महिलाहरूसँग कुराकानी गर्दै उनीहरूको अवस्था बुझ्ने र साथ दिने प्रतिबद्धतासहित नारी दिवसको शुभकामना साटासाट गरिएको थियो। अभियानका सदस्यहरूले उनीहरूको जीवन संघर्षप्रति सम्मान व्यक्त गर्दै मानवीय सहयोग प्रदान गरेका थिए।
यसैगरी विराटेश्वर वृद्धाश्रममा रहेका आमा बुवासँग समय बिताउँदै उनीहरूको आशीर्वाद ग्रहण गरिएको आलमले बताए । नारी दिवसको अवसरमा आमाहरूको सम्मान र माया बाँड्नु नै दिवसको वास्तविक उद्देश्य भएको उनले बताएका छन् ।
त्यस्तै कोशी अस्पतालको प्रसूति गृहमा रहेका सुत्केरी महिला, बिरामी दिदीबहिनी तथा स्वास्थ्यकर्मीहरूसँग पनि भेटघाट गरिएको थियो। नयाँ जीवनलाई जन्म दिन संघर्षरत आमाहरू र उनीहरूको सेवामा निरन्तर खटिने स्वास्थ्यकर्मीहरूको योगदानप्रति अभियानले उच्च सम्मान प्रकट गरेको छ।
अभियानका संयोजकले परिवर्तन ठूलो भाषणले मात्र सम्भव नहुने उल्लेख गर्दै साना–साना मानवीय कार्य र सहकार्यले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने बताए। “हामीले सडकदेखि अस्पतालसम्म पुगेर जुन मुस्कान देख्न पायौँ, त्यही नै हाम्रो अभियानको सफलता हो,” अभियान्ता निरज साहले भने।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने दाता समूह तथा सहयोगीप्रति अभियानले आभार व्यक्त गरेको छ। अभियानका अनुसार समाजका पिछडिएका वर्ग र सेवामा समर्पित व्यक्तिहरूलाई सहयोग पुर्याउन विभिन्न व्यक्ति तथा संस्थाले तन, मन र धनले साथ दिएका थिए।
‘परिवर्तनका लागि एकता अभियान’ले आगामी दिनहरूमा पनि यस्तै मानवीय र सामाजिक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण महिलाहरूमा सम्मान, समानता र सशक्तीकरणको सन्देश फैलाउन सबैलाई आग्रह गरेको छ ।