घरदैलोदेखि प्रचार सामग्रीसम्म: बालेन्द्र शाहको खर्च विवरण सार्वजनिक

0 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह ले आफ्नो चुनावी अभियानमा भएको खर्चको विवरण निर्वाचन आयोग मा बुझाएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार उनले खर्च विवरण औपचारिक रूपमा पेस गरेका हुन्।

आयोगमा दर्ता गरिएको विवरणअनुसार शाहले चुनावी अभियानका क्रममा विभिन्न शीर्षकमा गरी कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। झापा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका शाहका तर्फबाट निर्वाचन प्रतिनिधि नवीन भण्डारीले ०८२ फागुन २५ गते जिल्ला निर्वाचन कार्यालयमा उक्त खर्च विवरण दर्ता गराएका हुन्।

पेस गरिएको विवरणअनुसार चुनावी अभियानका लागि दुईवटा सवारीसाधन १५ दिन सञ्चालन गर्दा इन्धनसहित दुई लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको देखिएको छ। त्यस्तै हवाई यात्रामा पाँच पटक गरी ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

मतदातासँग सम्बन्धित कार्यक्रमअन्तर्गत ५८ जना सहभागी भएको मतदाता प्रशिक्षण कार्यक्रममा खाजाका लागि २८ हजार ९७० रुपैयाँ खर्च गरिएको छ। साथै १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो तथा वडास्तरीय प्रचार कार्यक्रममा पाँच लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

प्रचारप्रसार सामग्रीतर्फ नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ खर्च भएको छ। त्यस्तै झन्डा र ब्याचलगायत प्रचार सामग्री छपाइमा एक लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकर छपाइमा एक लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यसैगरी झापा–५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनासम्म पानी तथा अन्य व्यवस्थापनमा एक लाख २० हजार रुपैयाँ खर्च भएको छ भने स्टेसनरी सामग्रीमा २२ हजार ८२० रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।

यसका साथै उम्मेदवारी मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च भएको पनि विवरणमा समावेश गरिएको छ। निर्वाचन आयोगको नियमअनुसार प्रत्येक उम्मेदवारले निर्वाचनपछि निश्चित समयभित्र चुनावी खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

सम्बन्धित समाचारसबै