काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किन थालेको छ। पार्टीका उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङसहित दोस्रो र तेस्रो तहका नेताहरूले निर्वाचन परिणामप्रति जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने आवाज उठाउन थालेका छन्।
निर्वाचन परिणाम सार्वजनिक हुन थालेपछि उपाध्यक्ष पौडेलले नेतृत्व परिवर्तनको बहस उठाउनुपर्ने संकेत दिएका थिए। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेख्दै उनले पार्टीभित्र भएका गल्ती–कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने र जनअपेक्षा अनुसार पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।
उनले रुपन्देही–२ बाट निर्वाचित उम्मेदवार सुलभ खरेललाई दिएको बधाई सन्देशमा समेत पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टीका एक नेताका अनुसार पौडेलले मतगणनाको प्रारम्भिक परिणाम आउँदै गर्दा नै रुपन्देहीमा उपलब्ध केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला स्तरका नेताहरूलाई भेला गरी पार्टी अब यथास्थितिमा अघि बढ्न नसक्ने र निर्वाचन परिणामको जिम्मेवारी नेतृत्वले लिनुपर्ने संकेत दिएका थिए।
उक्त नेताका अनुसार निर्वाचनमा पराजय स्पष्ट भएपछि बुटवलमा आयोजित छलफलमा पौडेलले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै त्यसका लागि तयारी गर्न नेताहरूलाई आग्रह गरेका थिए। त्यसपछि उनी काठमाडौं फर्किएर यस विषयमा थप आन्तरिक छलफल अघि बढाइरहेका छन्।
पौडेलले उठाएको बहसप्रति उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि सकारात्मक देखिएका छन्। गुरुङले आफूनिकट नेताहरूसँग अध्यक्ष ओलीले स्वेच्छाले राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै आएका छन्। उनका अनुसार ओलीले मार्गप्रशस्त गरेपछि कार्यवाहक नेतृत्वको व्यवस्था गरी स्थानीय र प्रदेश निर्वाचनसम्म पार्टीलाई अघि बढाउने र त्यसपछि विशेष वा प्रारम्भिक महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने विकल्प हुन सक्ने बताइएको छ।
उपमहासचिव योगेश भट्टराईले पनि निर्वाचन परिणामलाई पार्टीका नीति र नेतृत्वप्रति जनताले दिएको अस्वीकृतिको संकेतका रूपमा व्याख्या गरेका छन्। उनले पार्टीले आफूभित्र व्यापक रूपान्तरण गरेर मात्रै जनसमर्थन पुनः प्राप्त गर्न सक्ने बताएका छन्। भट्टराईले भदौ २३ र २४ पछि पार्टीले अपनाएका केही नीति सही नभएको भन्दै त्यसमा सुधार गर्न आफूहरूले पटक–पटक आग्रह गरे पनि सफल हुन नसकेको बताएका छन्। अब ती विषयमा पुनः गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ।
उनले सार्वजनिक संस्थामा जिम्मेवारी र जवाफदेहिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै एमाले अहिलेको अवस्थामा पुग्नुमा नीति मात्र होइन, नेतृत्व र विभिन्न तहका कमिटीहरू सबै जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्। उनका अनुसार सफलता वा असफलतापछि कसरी जवाफदेहिता बहन गरिन्छ भन्ने विषयमा पार्टीभित्र पूर्वाग्रहभन्दा माथि उठेर गम्भीर बहस हुनुपर्छ।
ओली पक्षभित्रैबाट पुनर्गठनको आवाज उठ्न थालेपछि इतर समूह भने अहिले ‘पर्ख र हेर’ को रणनीतिमा देखिएको छ। गत महाधिवेशनमा महासचिवमा पराजित सुरेन्द्र पाण्डेले निर्वाचनअघि नै पार्टी र नेतृत्व असफल भए अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए। तर निर्वाचन परिणामपछि उनले पुनर्गठनबारे सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।
एमालेको हालको केन्द्रीय संरचनामा इतर समूहबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई मात्र रहेका छन्। भट्टराईले नीति र नेतृत्व पुनर्गठन आवश्यक रहेको बताइसकेका छन् भने विष्टले यस विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गरेका छैनन्।
इतर समूहसँग निकट एक नेताका अनुसार ओली समूहका केही नेताले पुनर्गठनको विषयमा छलफलका लागि सम्पर्क गरिरहेका छन्, तर केवल एक व्यक्तिको नेतृत्व परिवर्तनले मात्रै पार्टीको समस्या समाधान नहुने धारणा पनि त्यहाँ छ। उनका अनुसार पार्टी आन्दोलनलाई पुनः व्यवस्थित गर्न व्यापक संरचनात्मक सुधार आवश्यक रहेको छ।
गत मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनमार्फत नेतृत्व अद्यावधिक गरेर चुनावमा गएको एमालेले यसपटक अत्यन्त कमजोर परिणाम सामना गर्नुपरेको छ। हालसम्म प्रत्यक्षतर्फ एमालेले जम्मा आठ सिट जितेको छ भने एक सिटमा अग्रता कायम गरेको छ। समानुपातिकतर्फ करिब १२ लाख मत प्राप्त भएको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा निकै कम हो।
प्रत्यक्ष र समानुपातिक दुवै परिणाम हेर्दा एमाले करिब २५ सिट आसपासमा सीमित हुने अनुमान गरिएको छ। अघिल्लो निर्वाचनमा लोकप्रिय मतमा पहिलो बनेको एमाले यसपटक निकै कम मतका साथ तेस्रो स्थानमा झर्न पुगेपछि पार्टीभित्र असन्तोष बढेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहसँग ४९ हजारभन्दा बढी मतान्तरले पराजित भएका छन्। यसपटक चुनाव लडेका एमालेका ११ पदाधिकारी र दुई पूर्व पदाधिकारीमध्ये कसैले पनि जीत हासिल गर्न सकेनन्।
पार्टीभित्रका नेताहरूका अनुसार युवापुस्तामाझ बढ्दो असन्तुष्टि, केही विवादास्पद राजनीतिक घटनाक्रम तथा नेतृत्वप्रति घट्दो विश्वासका कारण एमालेको जनसमर्थन घट्दै गएको देखिन्छ। त्यसैले निर्वाचन परिणामपछि पार्टीभित्र नेतृत्व र नीति दुवैको पुनरावलोकन आवश्यक भएको आवाज बलियो बन्दै गएको छ।