राना थारू समुदायले ‘खखडेहरा पर्व’ मनाउँदै होलीको औपचारिक बिदाइ

0 Shares

काठमाडौँ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत खखडेहरा पर्व मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गरेका छन्। करिब एक महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा मनाइने राना थारू समुदायको होली पर्व खखडेहरा पर्वसँगै समाप्त हुने परम्परा रहेको छ।

राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्वका रूपमा सीमित छैन। यो पर्व सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइन्छ। समुदायका लागि होली वर्षकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड मानिन्छ, जसले सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थाको प्रतीकका रूपमा पनि स्थान पाएको छ।

राना थारू समुदायमा माघ शुक्ल पूर्णिमाका दिनदेखि होली पर्वको सुरुआत हुन्छ। सो दिन गाउँमा ‘होरी’ राखेर पर्व प्रारम्भ गरिन्छ। त्यसपछि करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ, जसलाई समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ।

जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने तथा धार्मिक कथाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने गर्छन्। यसले समुदायमा मनोरञ्जनका साथै धार्मिक आस्था र सांस्कृतिक चेतनालाई सुदृढ बनाउने विश्वास रहेको स्थानीय रामसहाय रानाले बताएका छन्।

उनका अनुसार फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ। त्यसको अर्को दिनलाई ‘टीका’ भनिन्छ। यस दिन गाउँका सबै मानिसले होली जलेपछि बाँकी रहेको खरानीको टीका लगाउने परम्परा छ। समुदायमा रहेको विश्वासअनुसार उक्त खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने मान्यता रहेको स्थानीयले बताएका छन्।

टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ। यस अवधिमा दिन र रात दुवै समयमा होली खेलिन्छ। मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ, जसलाई होलीको औपचारिक समापनका रूपमा लिइन्छ।

खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ। गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री संकलन गर्छन्। पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, घोडाको माटोको मूर्ति तथा शुद्ध पानी संकलन गरिन्छ।

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय रतनलाल रानाका अनुसार यी सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिन्छ। उनका अनुसार गाउँका सबै घरबाट सामग्री संकलन गरिने भएकाले यो पर्व सामूहिक सहभागितामा आधारित रहेको देखिन्छ।

संकलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिन्छ। पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो तथा अन्य सामग्री फुटाउने चलन छ। समुदायका अगुवा जगता रानाका अनुसार खखडेहरा फुटाउने कार्य गाउँका निश्चित व्यक्तिमात्रले गर्ने परम्परा छ, जसलाई गाउँबाट नकारात्मक शक्ति हटाउने प्रतीकात्मक संस्कारका रूपमा लिइन्छ।

यस पर्वमार्फत राक्षसी प्रवृत्ति, रोगव्याधि, दुर्भाग्य तथा अन्य नकारात्मक प्रभावलाई गाउँबाट टाढा भगाउने विश्वास समुदायमा रहिआएको छ। खखडेहरा फुटाइसकेपछि सहभागीहरू गाउँ फर्किन्छन् र फर्किने क्रममा पछाडि फर्केर हेर्नु हुँदैन भन्ने कडा मान्यता पनि छ।

खखडेहरा पर्वको अर्को महत्त्वपूर्ण पक्ष ‘फगुवा’ माग्ने परम्परा पनि हो। पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्ने गर्छन्। घरधनीले गच्छेअनुसार नगद रकम, अन्न वा अन्य सामग्री दिने चलन छ। यसरी संकलित रकमबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।

साँझपख गाउँमा उत्सवमय वातावरण देखिन्छ। महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृङ्गारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने गर्छन्। समुदायमा रहेको विश्वासअनुसार खखडेहरा पर्वमा गरिने पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास गरिन्छ।

नेपाल राना थारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष कृपाराम रानाले राना थारू समुदायका लागि होली सबैभन्दा महत्त्वपूर्ण पर्व रहेको बताए। उनका अनुसार खखडेहरा पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्छ।

उनले खखडेहरा पर्वका दिन खेतीपाती, गोरुगाडा चलाउनेलगायतका कामसमेत रोक्ने परम्परा रहेको बताए। विगतमा तराई क्षेत्रमा मलेरिया, महामारी तथा प्राकृतिक विपत्तिसँग जुध्दै आएको समुदायले सामाजिक एकता कायम राख्न यस्ता सांस्कृतिक परम्पराहरू विकास गरेको उनको भनाइ छ।

गर्मी मौसम सुरु भएसँगै रोगव्याधि फैलिने सम्भावना बढी हुने भएकाले समुदायले खखडेहरा पर्वमार्फत प्रतीकात्मक रूपमा भूतप्रेत, रोगव्याधि तथा दुर्भाग्यलाई गाउँबाट हटाउने विश्वास राख्दै आएका छन्। यसरी खखडेहरा पर्व केवल धार्मिक अनुष्ठानमात्र नभई समुदायको सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्परागत मूल्यलाई जोगाउने महत्त्वपूर्ण अभ्यासका रूपमा स्थापित भएको देखिन्छ।

सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यो पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त बनाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको पूर्वअध्यक्ष रानाले बताए। आज खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

सम्बन्धित समाचारसबै