भक्तपुर । बिस्केट जात्राका लागि भक्तपुरमा रथ निर्माणको तयारी सुरु गरिएको छ। नौ दिन आठ रातसम्म मनाइने यस ऐतिहासिक जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको आवश्यक तयारी थालिएको हो।
जात्राका लागि न्यातपोल मन्दिर नजिकैको टौमढी क्षेत्रमा रथ निर्माणको काम अघि बढाइएको छ। रथ निर्माणका लागि आवश्यक चक्का तथा अन्य काठका सामग्रीमध्ये धेरै पुराना भइसकेकाले नयाँ काठ ल्याएर रथ निर्माण गर्ने तयारी गरिएको छ।
परम्पराअनुसार नयाँ वर्ष आउनुभन्दा चार दिनअघि भैरवको रथ तानेर जात्रा सुरु गरिन्छ। यस जात्राको मुख्य आकर्षण चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते ल्यासिङ्खेलमा दिनभर लिङ्गो जात्रा मनाउने परम्परा रहेको छ। सोही दिन साँझ लिङ्गो ढालेर जात्राको प्रमुख कार्यक्रम सम्पन्न गरिन्छ।
जात्राका लागि आवश्यक रथ निर्माण सामग्रीको व्यवस्थापन गुठी संस्थानले गर्दै आएको छ। स्थानीय परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको विस्केट जात्रा भक्तपुरको सबैभन्दा महत्वपूर्ण तथा ऐतिहासिक पर्वमध्ये एक मानिन्छ।