सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमसहित मनाइँदै गर्दा प्रदेश अस्पतालको शवगृहमा एक किशोरीको शव पोस्टमार्टमको प्रतीक्षामा थियो। त्यो शव थियो गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको।
इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। स्थानीयको सूचनापछि प्रहरीले उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्याएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकका आफन्तहरूले इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डिएसपी मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका नाबालक हुन्।
प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा फागुन २४ गते अरू तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फागुन २३ गते शनिबार बिहान करिब ६ बजेतिर इनिसा ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किन तयार भएकी थिइन्। उनकी आमा तिला विकले ‘आज शनिबार हो, ट्युसन नजाऊ, गुर्भाकोट घर जानुपर्ने छ’ भन्दै रोक्न खोजेकी थिइन्। तर इनिसाले दुई घण्टामै फर्कने भन्दै जिद्दी गरेपछि उनी घरबाट निस्किएकी थिइन्।
इनिसा वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ८ बजेसम्म फर्कने भनेर निस्किएकी छोरी ९ बजेसम्म घर नआएपछि आमाले फोन गरेकी थिइन्। तर फोन स्वीच अफ थियो।
आमा तिलाका अनुसार उनले विद्यालयमा समेत फोन गरेर जानकारी लिन खोजेकी थिइन् तर त्यहाँबाट पनि स्पष्ट जानकारी पाएनन्। केही समयपछि अपरिचित नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्तिले ‘तपाईंकी छोरी शहीद पार्क नजिकको जङ्गलमा बेहोस अवस्थामा छिन्, छिटो आउनुस्’ भने।
छोरालाई साथमा लिएर हतारिँदै शहीद पार्क पुगेकी तिलाले त्यहाँ पुगेपछि छोरीको अवस्था देखेर स्तब्ध भइन्। उनका अनुसार इनिसाको शरीर रक्ताम्मे थियो, कपाल लुछिएको थियो र वरिपरि घाँस मडारिएको थियो। एकातिर जुत्ता र अर्कोतिर मोजा फालिएको अवस्थामा थियो।
खोल्सातिर सुतेकी इनिसाको शरीरमा कपडा थिएन र कालो ज्याकेटले छोपिएको थियो। ‘प्रहरीले ज्याकेट हटाएर छोरीको अनुहार देखायो। छातीभरि नीलडाम थियो,’ आमा तिलाले भक्कानिँदै भनिन्। ‘छोरीको त्यो अवस्था देखेपछि म त्यहीँ बेहोस भएँ। प्रहरीले अस्पताल लगेको पनि थाहा पाइनँ।’
इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि रोजगारीका लागि दुबईमा कार्यरत छन्। उनी पछिल्लो ६ वर्षदेखि दुबईमा काम गर्दै आएका थिए। एक महिना अघि मात्रै घर बिदामा आएर फर्किएका थिए।
छोराछोरीको भविष्यका लागि विदेश गएका इन्द्रबहादुरको सपना छोरीलाई राम्रो शिक्षा दिलाउने थियो। इनिसा पढाइमा पनि राम्रो विद्यार्थी थिइन् र विज्ञान विषय लिएर अध्ययन गरिरहेकी थिइन्। उनको सपना भविष्यमा डाक्टर बन्ने थियो।
छोरीको मृत्युको खबर पाएपछि उनी नेपाल फर्किने प्रयासमा छन्। तर मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण दुबई विमानस्थल बन्द भएकाले उनको उडान अनिश्चित बनेको परिवारले जनाएको छ।
मृत्युपछि इनिसाकी आमा तिला विक्षिप्त अवस्थामा छन्। आफन्त चन्द्रबहादुरका अनुसार उनीहरूले केही दिनदेखि राम्ररी खाना समेत खान सकेकी छैनन्।
‘बहिनीको मृत्युपछि माइज्यूले केही खानु भएको छैन। स्वास्थ्य झन् कमजोर हुँदै गएको छ,’ उनले भने। ‘मामा भने दुबई एयरपोर्टमै अलपत्र पर्नुभएको छ।’
मृतकको परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराएको छ।
प्रहरीले भने घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। डिएसपी बुढथापाका अनुसार पक्राउ परेकाहरू सबै नाबालिग भएकाले उनीहरूको बयान प्रक्रिया सावधानीपूर्वक अघि बढाइँदैछ।
‘प्रदेश अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएपछि घटनाबारे स्पष्ट निष्कर्षमा पुग्न सकिन्छ,’ उनले भने।
प्रहरीका अनुसार थप अनुसन्धानका लागि भेरी अस्पताल नेपालगञ्जबाट तीन जना विशेषज्ञको टोली सुर्खेत बोलाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका एक १६ वर्षीय किशोरले इनिसासँग शारीरिक सम्पर्क भएको र त्यसपछि अत्यधिक रक्तस्राव भई उनी अचेत भएको बयान दिएको प्रहरीले जनाएको छ। उनले अचेत भएपछि सहयोगका लागि अरू तीन जना साथीलाई बोलाएको बताएका छन्।
तर मृतकको परिवारले भने उक्त दाबी अस्वीकार गर्दै सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाएको छ।
इनिसाका दाजु नाता पर्ने चन्द्रबहादुरका अनुसार घटनास्थलको अवस्था हेर्दा सामान्य घटना जस्तो नदेखिने बताएका छन्।
‘सामान्य शारीरिक सम्पर्क हुँदैमा कसैको ज्यान कसरी जान्छ ? शरीरमा नीलडाम छन्, कपाल लुछिएको छ, भजाइना च्यातिएको छ,’ उनले भने, ‘तड्पाएर मारिएको जस्तो देखिन्छ। दोषीमाथि कडा कारबाही हुनुपर्छ।’
उनका अनुसार परिवारले चारै जनाविरुद्ध जाहेरी दिए पनि प्रहरीले एक जनामात्र दोषी देखाउन खोजेजस्तो व्यवहार गरेको आरोप छ।
यस घटनाले सुर्खेतसहित कर्णाली प्रदेशभर चासो र आक्रोश उत्पन्न गरेको छ। विभिन्न मानवअधिकार तथा महिला अधिकारसम्बन्धी संघसंस्थाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
उनीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।-अनलाइन खबरबाट