दुबईमा अलपत्र नेपालीका लागि नेपाल एयरलाइन्सको विशेष उडान

0 Shares

काठमाडौं। नेपाल वायु सेवा निगमले दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रुको उद्धार गर्न विशेष उडान सञ्चालन गर्ने भएको छ। निगमले बुधबार राति ‘स्पेसल फ्लाइट’ मार्फत दुबईमा अलपत्र परेका यात्रुलाई स्वदेश फर्काउने तयारी गरेको हो।

निगमले मंगलबार जारी गरेको उडान सूचनाअनुसार वाइडबडी विमानमार्फत काठमाडौं–दुबई उडान बुधबार राति ११:१५ बजे प्रस्थान गर्नेछ। सोही विमानले दुबईमा रोकिएका यात्रुलाई लिएर बिहीबार बिहान ४:१० बजे काठमाडौं अवतरण गर्ने तालिका रहेको छ।

अमेरिका–इरानबीच तनाव बढेपछि अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा दुबईमा धेरै नेपाली यात्रु अलपत्र परेका थिए। उक्त अवस्थापछि १२ दिनपछि पहिलोपटक निगमले दुबईका लागि विशेष उडान सञ्चालन गर्न लागेको नेपाल वायु सेवा निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार यात्रुको उद्धारलाई प्राथमिकतामा राख्दै ‘पहिलो आउनेलाई पहिलो सेवा’ को आधारमा यात्रा व्यवस्थापन गरिनेछ। विशेष उडानमार्फत करिब २७० देखि २८० जना यात्रु दुबई पुग्ने र त्यहाँबाट रोकिएका यात्रुलाई स्वदेश फर्काइने तयारी गरिएको छ।

निगमका अनुसार आरए २२९ नम्बरको उडान काठमाडौंबाट दुबईका लागि बुधबार राति ११:१५ बजे प्रस्थान गर्नेछ भने आरए २३० नम्बरको उडान दुबईबाट बिहीबार बिहान ४:१० बजे काठमाडौंका लागि उड्नेछ।

यस उडानमार्फत विशेषगरी गत फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट लिएका तर विभिन्न कारणले यात्रा गर्न नसकेका यात्रुलाई प्राथमिकता दिइने निगमले जनाएको छ। त्यस्ता यात्रुले आफ्नो टिकट पुनः प्रमाणित गराएर मात्र यात्रा गर्न सक्ने निगमले सूचनामार्फत अनुरोध गरेको छ।

 

सम्बन्धित समाचारसबै