काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण केही दिन रोकिएका नेपाली फिल्महरूको छायाङ्कन फेरि सुरु हुन थालेको छ। कलाकार, प्राविधिक तथा निर्माण टोली मतदानका लागि आ–आफ्नो गृहजिल्ला जानु परेकाले सुटिङ तालिका प्रभावित भए पनि अहिले अधिकांश फिल्म निर्माण पुनः गतिमा फर्किएको छ।
यसैक्रममा अभिनेत्री रेखा थापा करिब आठ वर्षपछि निर्देशनमा फर्किँदै आफ्नो नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ को छायाङ्कन सुरु गरेकी छन्। सोमबार शिवपुरी क्षेत्रभित्र पर्ने रोयल ट्युलिप परिसरबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो।
महाशिवरात्रिको अवसर पारेर घोषणा गरिएको यो फिल्म फागुन १० गतेदेखि छायाङ्कनमा जाने तयारी थियो। तर निर्वाचनका कारण कार्यतालिका परिवर्तन गरिएको निर्देशक थापाले बताइन्। केही दिन सुटिङ गरेर फेरि रोक्नु भन्दा निर्वाचनपछि नै काम सुरु गर्ने निर्णय गरिएको उनको भनाइ छ।
यसपटक रेखा थापा पर्दामा देखिने छैनन्। उनले आफू केवल निर्देशनमा केन्द्रित रहने बताएकी छन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, सङ्गम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको अभिनय रहनेछ।
निर्वाचनपछि अन्य केही फिल्मको काम पनि पुनः सुरु भएको छ। वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह को निर्देशनमा बनेको फिल्म ‘कमला मिस’ को छायाङ्कन मंगलबार सम्पन्न भएको छ। केही दिनको काम बाँकी रहँदा निर्वाचनका कारण रोकिएको सुटिङ मतदान सकिएलगत्तै पुनः सुरु गरिएको थियो।
लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम भोम्जन) का अनुसार अधिकांश कलाकार र प्राविधिक काठमाडौँमै भएकाले छायाङ्कनमा ठूलो अवरोध आएको थिएन। करिब २३ दिनमै फिल्मको सम्पूर्ण सुटिङ सम्पन्न भएको उनले बताए।
त्यस्तै निर्देशक राजेन्द्र बस्नेतको फिल्म ‘कार्की साइँला’ को छायाङ्कन पनि धनकुटाको सहिदभूमि गाउँपालिकामा पुनः सुरु भएको छ। हास्य कलाकार जितु नेपाल मुख्य भूमिकामा रहेको फिल्म निर्वाचनका कारण केही दिन रोकिएको थियो। एक प्राविधिकको निधनका कारण सुटिङ दुई दिन ढिलो गरी सुरु गरिएको उनले बताए।
यसैगरी एक्सन अभिनेता निखिल उप्रेती, वर्षा सिवाकोटी र निशा अधिकारी अभिनीत फिल्म ‘कस्तुरी’ को छायाङ्कन पनि काठमाडौँका विभिन्न स्थानमा पुनः सुरु गरिएको छ। चुनावी गतिविधिका कारण रोकिएको सुटिङ २३ गतेदेखि पुनः अघि बढाइएको अभिनेत्री निशा अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
यसैबीच निर्देशक लक्ष्मण पौडेलको फिल्म ‘भटभटे’ को छायाङ्कन धनुषामा पुनः सुरु भएको छ। लेखक नयनराज पाण्डे को कथामा आधारित फिल्म मोटरसाइकललाई केन्द्रमा राखेर तयार पारिएको छ।
निर्देशक गणेशदेव पाण्डेको फिल्म ‘पारि बुटवल’ को बाँकी छायाङ्कन पनि केही दिनभित्र सुरु हुने तयारी छ। अनुप बराल र दीया मास्के अभिनीत यस फिल्मको अधिकांश काम सम्पन्न भइसकेको छ।
यसैबीच निर्देशक सुनील पाण्डेको फिल्म ‘मुक्तिपुर’ को छायाङ्कन मंगलबार काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गर्दै सुरु गरिएको छ। फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेतीको अभिनय रहनेछ भने आकृति बुढाथोकीले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन्।
निर्वाचनका कारण केही समय सुस्ताएको नेपाली फिल्म उद्योग अहिले पुनः सक्रिय हुन थालेको निर्माणकर्मीहरू बताउँछन्। केही फिल्मको बजेट र तालिकामा असर परे पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाएकोमा कलाकार तथा प्राविधिकहरू सन्तुष्ट देखिएका छन्।