एमालेको समीक्षा बैठकमै ढलेका नेता कृष्ण थापाको निधन

0 Shares

पोखरा। पोखरा महानगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका नेता कृष्ण थापाको ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्चीमा बसिरहेका बेला उनलाई अचानक हृदयघात भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिएका छन्।

उनका अनुसार हृदयघात भएपछि तत्कालै उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

“हामी कास्की–१ को समीक्षा बैठक सकेर बसिरहेका थियौं। त्यही बेला कुर्चीमै उहाँलाई हृदयघात भयो। तत्काल अस्पताल लग्यौं, तर डाक्टरले मृत घोषणा गर्नुभयो,” क्षेत्रीले भने।

कृष्ण थापा लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय थिए। २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा उनी पोखरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसपछि पनि उनले विभिन्न राजनीतिक जिम्मेवारी सम्हाल्दै आएका थिए।

२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। २०७८ सालको स्थानीय तह निर्वाचनमा पनि उनी पोखरा महानगरपालिकाको मेयर पदका प्रत्यासी बनेका थिए।

थापा नेकपा एमाले कास्कीका इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्यसमेत थिए। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय भएको थियो। तर पछि उक्त टिकट खोसेर अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिइएको थियो। त्यसपछि उनी केही असन्तुष्ट देखिएका थिए।

उनको निधनले एमालेसहित समग्र राजनीतिक वृत्तमा शोक छाएको छ। विभिन्न राजनीतिक दलका नेताहरूले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

सम्बन्धित समाचारसबै