इनरुवा। सुनसरीको हरिनगरा गाउँपालिका–३ स्थित भित्री सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार बुधबार राति करिब ११:१० बजेतिर गौतमपुरबाट हरिनगरातर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीबाट २१७ किलोग्राम गाँजा बरामद गरिएको हो।
प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले शंका लागेर उक्त सवारीसाधनलाई रोक्न खोज्दा चालकले नरोकी भागेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय हरिनगरा, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरको संयुक्त टोलीले सिटी सफारीको पिछा गरेको थियो।
प्रहरीको पछ्याइपछि चालकले हरिनगरा गाउँपालिका–३ स्थित वडा कार्यालय नजिक सवारीसाधन छाडेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले बेवारिसे अवस्थामा फेला परेको सिटी सफारीभित्र रातो त्रिपालले छोपेर राखिएको आठ वटा प्लास्टिकको बोरामा २१७ किलो गाँजा फेला पारेको बताएको छ।
बरामद गरिएको गाँजा र सिटी सफारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।