निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाइ

0 Shares

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई आज बिदाइ गरिँदै छ। ४० कार्यदिनका लागि भर्ना गरिएको उनीहरूको कार्यअवधि बिहीबारबाट समाप्त भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिएका छन्।

प्रवक्ता काफ्लेका अनुसार निर्वाचनका क्रममा खटिएका प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै भविष्यमा देशलाई आवश्यक परेको बेला सहयोग गर्ने प्रतिबद्धतासहित उनीहरूलाई सम्मानपूर्वक बिदाइ गर्ने तयारी गरिएको छ।

उनले निर्वाचन प्रहरीहरूको प्रभावकारी कार्यसम्पादनका कारण प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताए। निर्वाचनको सुरक्षाका लागि यस वर्ष ठूलो संख्यामा अस्थायी रूपमा प्रहरी परिचालन गरिएको थियो।

नेपाल प्रहरी मातहत रहने गरी एक लाख ३३ हजार ९८० जना तथा सशस्त्र प्रहरी बल मातहत खटिने गरी १५ हजार ११० जना गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

निर्वाचन अवधिभर उनीहरूलाई ३४ हजार रुपैयाँ तलब उपलब्ध गराइएको थियो। साथै जिल्ला दररेटअनुसारको रासन भत्ता, यातायात भत्ता, खाजा खर्च तथा पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्चसमेत प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ।

निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूको योगदानले देशभर मतदान र मतगणनालाई सुरक्षित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचारसबै