अनलाइन स्क्यामिङमा परेका १६ नेपाली कम्बोडियाबाट उद्धार

0 Shares

काठमाडौँ। मानव तस्करको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका तथा भिसा नलिई वा भिसा अवधि सकिएपछि पनि बसिरहेका नेपालीहरूको उद्धार गरिएको जनाइएको छ।

बैंककस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा ती नेपालीहरूलाई आज नेपाल फर्काइएको राजदूतावासले जनाएको छ।

राजदूतावासका अनुसार कम्बोडियामा अझै पनि केही नेपाली नागरिक अलपत्र परेको वा कठिन परिस्थितिमा रहेको सूचना प्राप्त भएकाले उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउने पहल जारी रहेको छ।

राजदूतावासले कम्बोडियामा रहेका केही नेपालीहरूलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको तथा बिना भिसा वा भिसा अवधि भन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको जनाएको छ।

यसैबीच विदेश रोजगारीका नाममा हुने मानव तस्करी र ठगीप्रति सचेत रहन नागरिकलाई आग्रह गर्दै वैदेशिक रोजगारीका लागि जानेहरूले आधिकारिक प्रक्रिया अपनाउन तथा सम्बन्धित निकायबाट जानकारी लिएर मात्र विदेश जान राजदूतावासले अनुरोध गरेको छ।

सम्बन्धित समाचारसबै