काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सुनुवाइ गर्ने भएको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार उक्त मुद्दालाई हेर्दाहेर्दैमा राख्दै सोमबार पुनः सुनुवाइ गर्ने निर्णय गरेको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि आइतबारका लागि पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा रवि लामिछानेविरुद्ध दर्ता गरिएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
रिट निवेदनमा महान्यायाधिवक्ताको निर्णय कानुनी प्रक्रिया विपरीत भएको दाबी गर्दै उक्त निर्णय खारेज गर्न माग गरिएको छ। यस विषयमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई राजनीतिक तथा कानुनी वृत्तमा चासोका साथ हेरिएको छ।