काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले अब पद र संसदीय राजनीतिबाट टाढा रहने तर जनताको अधिकार, पहिचान र आफ्नो राजनीतिक एजेन्डाका लागि संघर्ष भने निरन्तर जारी राख्ने बताएका हुन्।
राउतले आफूले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताएका छन्। दुवैपटक निर्वाचनमा भाग लिने निर्णयप्रति आफू सन्तुष्ट रहेको पनि उनले स्पष्ट पारेका छन्।
उनले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट भने अलग नहुने बताएका छन्। आफ्ना सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। साथै पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व गर्दै अगाडि बढ्ने पनि उनले जनाएका छन्।
राउतले सामाजिक सञ्जालमा लेखेको लामो सन्देशमा विगतका राजनीतिक निर्णयबारे पनि चर्चा गरेका छन्। उनका अनुसार २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’ लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जानसमेत अवरोध सिर्जना भएपछि नयाँ पार्टी गठन गर्ने निर्णय गरिएको थियो। त्यसक्रममा अन्य नेताहरूलाई अध्यक्ष बन्न आग्रह गरिए पनि सहमति नजुटेपछि अन्ततः आफैंले जनमत पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्नु परेको उनले बताएका छन्।
त्यसैगरी २०७९ सालको आमनिर्वाचनमा आफू उम्मेदवार नबन्ने सोच भए पनि पार्टीका नेताहरूको आग्रहपछि अन्ततः चुनाव लडेको उनले बताएका छन्। सांसद वा मन्त्री बन्ने व्यक्तिगत चाहना नभए पनि पार्टीलाई स्थापित गराउनका लागि चुनाव लड्न बाध्य भएको उनको भनाइ छ।
राउतका अनुसार उक्त निर्णय सही सावित भएको थियो। आफू प्रत्यक्षतर्फ एक सिटमा विजयी हुँदा समानुपातिकतर्फ थप पाँच सिट प्राप्त गर्दै जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको उनले उल्लेख गरेका छन्।
अब भने संसदीय राजनीतिबाट विश्राम लिने निर्णय गरेको उनले बताएका छन्। २०८२ सालको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय यसअघि नै तय गरिसकेको उल्लेख गर्दै उनले राजनीतिक संघर्ष भने निरन्तर जारी रहने बताएका छन्।
उनले आफ्नो सन्देशको अन्त्यमा लेखेका छन्, “मैले सकिन भनेको होइन, अब अरूले गरेर देखाउनोस् भन्ने अपेक्षा छ। सबैलाई शुभकामना।”