सर्वोच्च न्यायाधीश पोखरेलविरुद्ध न्यायपरिषदमा उजुरी

0 Shares

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ। न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनुवाइ गरेको आरोपमा युवराज पौडेलले सफल उजुरी लिएर न्यायपरिषद् पुगेका हुन्। यद्यपि उजुरी दर्ता भइसकेको छैन।

अहिले पोखरेलको इजलासमा रवि लामिछानेको सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा सुनुवाइ भइरहेको छ। यसबारे प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष प्रकाशमान सिंह राउतसँग थप परामर्श गरिने परिषद्का सचिव जितेन्द्रबाबु थपलियाले जानकारी दिएका छन्।

उजुरीमा न्यायाधीश पोखरेलले न्यायाधीशको आचारसंहिता, २०७४ को दफा ४ को उपदफा ४.५ (ग) विपरीत काम गरेको उल्लेख छ। उक्त दफामा विवादित विषयमा न्यायाधीशले पहिले कानून व्यवसायीको हैसियतले काम गरेको वा साक्षीको रूपमा रहेको भएमा मुद्दाको सुनुवाइ गर्न नहुने उल्लेख गरिएको छ।

न्यायाधीश हुनुअघि पोखरेलले लामिछानेविरुद्ध लागेको आत्महत्या दुरुत्सान, नागरिकता, पासपोर्ट जस्ता मुद्दामा वकिलको रूपमा काम गरेका थिए। न्यायाधीश भएपछि रविविरुद्ध लागेका मुद्दाको सुनुवाइ गर्नु न्यायिक अभ्यास विपरीत भए पनि त्यसलाई बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ।

लामिछानेमाथि लागेका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णयविरुद्ध परेको रिट हिजो पोखरेल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। सो मुद्दामा आज पनि सुनुवाइ जारी छ।

सम्बन्धित समाचारसबै