काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एन्कम) का प्रमुख प्रेम कुमार राई लगायतका हाइप्रोफाइललाई धम्की दिने आरोपी प्रकाश पाठक अहिले प्रहरी हिरासतमा छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ परेका पाठकले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग ‘सुपारी’ लिएको प्रहरी अनुसन्धानले देखाएको छ।
पाठकले प्रहरीलाई बयान दिएका छन् कि उनले अधिकारीसँग दुई करोड रुपैयाँ लिएको स्वीकार गरेका छन्। भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता भएको उजुरीमा अख्तियार अनुसन्धान गरिरहेको बेला पाठकले रकम लिएर अख्तियार प्रमुखलाई धम्की दिएको खुलेको छ।
प्रहरीका अनुसार उक्त रकम एक चिनियाँ ठेकेदारमार्फत हुण्डी गरी पठाइएको थियो। पाठकले सो रकम फिलिपिन्समा अपार्टमेन्ट खरिदमा प्रयोग गरेको स्वीकारेका छन्। उनलाई माघ २८ मा फिलिपिन्सबाट नेपाल ल्याइएको थियो।
पाठकले सामाजिक सञ्जालमार्फत अख्तियार प्रमुखसहित १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए। साथै सामाखुस स्थित एक डेन्टल कलेज सञ्चालकसँग ५ लाख रुपैयाँ पनि लिएको भेटिएको छ। ती रकम तारा प्रसाद खरेलको नाममा पठाइएको पाइएपछि प्रहरीले खरेलविरुद्ध पनि अनुसन्धान सुरु गरेको छ।
प्रहरीले पाठक र अधिकारी दुबैलाई आपराधिक लाभ, आपराधिक षड्यन्त्र र विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गर्ने तयारी गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीसँग भने, “प्रदीप अधिकारीलाई पनि कारागारबाट बयान लिई प्रतिवादी बनाइनेछ।”
२०८० सालमा देश छाडेर विदेश बस्दै आएका पाठक पछिल्लो समय विभिन्न देश घुमेर फिलिपिन्स पुगेका थिए। २०७७ सालमा उनले भिजिट भिसामा नेपालीलाई विदेश पठाउने काम गरेका थिए। पाठकले ‘थर्काएपछि पैसा आउँछ’ भन्ने मानसिकतामा सामाजिक सञ्जालमार्फत धम्की दिने गरेको भेटिएको छ।
पाठकको मोबाइल परीक्षण डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ। यसबाहेक उनीविरुद्ध वैदेशिक रोजगार ठगीका दुईवटा मुद्दा पनि चलिरहेका छन्।
सुरुमा बीडीएस अध्ययन गरेका पाठकले पछि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई पनि ज्यान मार्ने धम्की दिएका थिए।