काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार अपराह्नपछि देशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
यसैबीच सोमबार आएको शक्तिशाली हावाहुरीका कारण उदयपुर जिल्लामा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार कटारी नगरपालिका–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रूखको हाँगा भाँचिएर लाग्दा मृत्यु भएको हो।
त्यसैगरी कटारी नगरपालिका–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै सखुवाको रूख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।
हावाहुरीकै कारण अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामी मगर, कटारी–५ की ५ वर्षीया बिनिशा (मृतक चौधरीकी नातिनी), २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्।
घाइतेमध्ये गम्भीर अवस्थाका लीलबहादुर दनुवार र कमलाकुमारी पुलामी मगरलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य चार जनाको कटारी अस्पतालमा सामान्य उपचारपछि सोमबार साँझ नै डिस्चार्ज गरिएको छ।
मृतकहरूको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ र परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ। हावाहुरी र वर्षाका कारण कटारी क्षेत्रका विभिन्न स्थानमा घरका छाना उड्नुका साथै अन्य सामान्य क्षति भएको विवरणसमेत प्राप्त भइरहेको छ।
मौसमविद्हरूले आगामी दिनमा पनि हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।