जबर्जस्ती उद्धार र लाखौँ बिमा असुली:३३ व्यवसायी अनुसन्धानको दायरामा

0 Shares

काठमाडौँ। नेपाल आएका विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत जबर्जस्ती ‘उद्धार’ गरी लाखौँ बिमा रकम असुली गर्ने धन्दामा संलग्न ३३ जना पर्यटन व्यवसायीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुद्दा सिफारिस गरेको छ।

सिआइबीका अनुसार पानोराम हिमालय ट्रेकिङका सञ्चालक पासाङ शेर्पालाई गत २७ फागुनमा पक्राउ गरेपछि उनका दाइ तेन्जिङ शेर्पाले एक क्यानेडियन पर्यटकलाई उजुरी फिर्ता लिन दबाब दिएका थिए। उक्त घटना सिआइबीमा उजुरी दिइएको र चारजना विदेशी पर्यटकले यसबारे छानबिन गराइसकेका छन्।

सिआइबीले १६ ट्रेकिङ कम्पनी, चार हेलिकोप्टर कम्पनी, पाँच रेस्क्यु कम्पनी, तीन अस्पताल, तीन बिमा कम्पनीका स्थानीय एजेन्ट र एक ट्रेकिङ गाइडको संलग्नता पुष्टि गर्दै ३३ जनाविरुद्ध चारवटा कसुरमा कारबाही सिफारिस गरेको छ। यी कसुरमा संगठित अपराध, राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ र लिखतसम्बन्धी कसुर समावेश छन्।

हालसम्म ३३ मध्ये १० जनालाई थुनामा राखी अनुसन्धान भइरहेको छ। पक्राउ परेकामा माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, रोयल होलिडेजका सन्दीप तिवारी तथा पानोराम ट्रेकिङका पासाङ शेर्पा रहेका छन्।

सिआइबीले दोस्रो चरणमा उनीहरूको सम्पत्ति सम्बन्धी अनुसन्धान गर्ने तयारी गरेको छ। प्रहरीले यस घटनालाई पर्यटन क्षेत्रमा गरिने ठगी र जबर्जस्ती उद्धारको गंभीर कानुनी मुद्दा ठान्दै कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचारसबै