काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा काठमाडौँ क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवास पुगेका छन्।
उपसभापति अर्यालले पितृ शोकमा रहेका ओली परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले स्वर्गीय ओलीप्रति श्रद्धासुमन अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन्।
भेटका क्रममा अर्यालले अध्यक्ष ओलीसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका थिए। उनले यस्तो दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत व्यक्त गरे।
राजनीतिक रूपमा फरक दलमा रहे पनि मानवीय संवेदना र सहानुभूति प्रकट गर्न अर्याल गुण्डु निवास पुगेको बताइएको छ। पछिल्लो समय नेपाली राजनीतिमा यस्ता भेटघाटले आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।