धुलो टकटकाएर उठ्ने समय आएको छ: वर्षमान पुन

0 Shares

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन (अनन्त)ले हालै सम्पन्न निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको भन्दै पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गरेका छन्।

काभ्रेको अनेकोटमा आयोजित २८औं शहीद सांस्कृतिक दिवसको अवसरमा बिहीबार भएको शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीले आत्मसमिक्षा गर्दै नयाँ ऊर्जा र सोचका साथ अघि बढ्ने बताएका हुन्।

उनले विचार, राजनीति, संगठन, नेतृत्व, शैली तथा तौरतरिकामा व्यापक पुनःमूल्यांकन आवश्यक रहेको उल्लेख गर्दै देश र जनताको भावना तथा वर्तमान आवश्यकताअनुसार पार्टीलाई पुनर्गठन गरिने बताए। “हामीले रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा सहभागिता जनाएका थियौँ, तर जनताले हामीलाई पनि पुरानै राजनीतिक शक्तिको रूपमा मूल्यांकन गर्नुभयो,” उनले भने।

पुनका अनुसार, आफूहरू विगतका त्रुटिहरू सच्याउँदै नयाँ ढङ्गले अघि बढ्ने तयारीमा छन्। उनले शान्तिपूर्ण आन्दोलनमाथि दमन वा हिंसात्मक गतिविधिको पक्षमा आफूहरू कहिल्यै नरहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र जनभावनाको सम्मान गर्ने प्रतिबद्धता दोहोर्‍याए।

उनले भने, “हामी पुराना हौँ, तर उस्तै खालका पुराना होइनौँ। हामीले परिवर्तनका लागि प्रयास गरेका छौँ र फेरि जनतामाझ जान्छौँ।”

पुनले पार्टीभित्र अहंकार, निराशा वा विचलनको कुनै स्थान नरहेको भन्दै शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै नयाँ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले १० वर्षे जनयुद्धका क्रममा पनि अनेकौं कठिनाइ र क्षति सहेर पनि नेतृत्वले हार नमानेको स्मरण गर्दै वर्तमान परिस्थितिमा पनि दृढताका साथ अघि बढ्नुपर्ने बताए।

उनले थपे, “हाम्रो विचार, राजनीति, संगठन र नेतृत्वशैलीलाई शान्त मनले पुनः मूल्यांकन गर्नुपर्छ। जनताको अपेक्षाअनुसार आफूलाई परिमार्जन गर्दै अघि बढ्नु नै अहिलेको आवश्यकता हो।”

पुनका अनुसार, निर्वाचनमार्फत जनताले नयाँ दलहरूप्रति समर्थन जनाउँदै पुराना दलहरूलाई आफ्नो कार्यशैली सुधार्न स्पष्ट सन्देश दिएका छन्। उनले उक्त सन्देशलाई आलोचनाका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

“जनताले दिएको खबरदारीलाई सच्यिने अवसरका रूपमा ग्रहण गर्नुपर्छ। अब हामी जनताको विश्वास जित्ने गरी काम गर्छौँ,” उनले भने।

सम्बन्धित समाचारसबै