काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्ला राजनीतिक घटनाक्रमले शक्ति सन्तुलन र रणनीतिमाथि गम्भीर बहस सुरु गराएको छ। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक आज (शुक्रबार) दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।
चुनावी परिणाम अपेक्षाभन्दा कमजोर आउँदा नेतृत्वमाथि प्रश्न उठेको छ। बुधबार सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा राजीनामा अस्वीकृत हुने संकेत गरिसकेका छन्। पार्टीभित्र बहुसंख्यक नेताहरू नेतृत्व परिवर्तनभन्दा संगठनलाई एकताबद्ध राखेर सुधार गर्नुपर्नेमा जोड दिइरहेका छन्।
बैठकमा चुनावी पराजय, संगठनात्मक कमजोरी, गठबन्धन राजनीति र सरकार सञ्चालनमा देखिएका चुनौतीबारे छलफल हुने बताइएको छ। साथै पार्टीलाई पुनः सशक्त बनाउने रणनीति तय गर्ने तयारी पनि रहनेछ।
राजीनामा अस्वीकृत भएमा थापालाई सुधारात्मक कदम चाल्दै पार्टी एकताबद्ध राख्ने दबाब अझ बढ्नेछ। यस बैठकलाई कांग्रेसको नेतृत्व, संगठन र आगामी राजनीतिक दिशा तय गर्ने निर्णायक मोडको रूपमा हेरिएको छ।