काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दायर गरेको छ।
विशेष अदालतले विभिन्न मितिमा दिएको थुनछेक आदेश कानूनसम्मत नभएको दाबी गर्दै अख्तियारले ती आदेश बदर गरी प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेको हो।
यसअघि अख्तियारले उक्त विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाउँदै गत मंसिर २१ गते पाँच पूर्व मन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा भ्रष्टाचार बराबरको बिगो असुली र कैद सजायको माग गरिएको छ।
सोही मुद्दामा विशेष अदालतले विभिन्न मितिमा केही प्रतिवादीसँग धरौटी माग गर्दै र केहीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। जसअनुसार सुशील घिमिरेलाई डेढ लाख रुपैयाँ, सुमनकुमार श्रेष्ठ र रञ्जनकृष्ण अर्याललाई एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।
यस्तै, अन्य प्रतिवादीहरूलाई पनि विभिन्न मितिमा साधारण तारेखमा छाड्ने आदेश दिइएको थियो। तर, ती आदेशहरू प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको भन्दै अख्तियारले अब सर्वोच्च अदालतमार्फत पुनरावलोकनको माग गरेको छ।
अख्तियारको निवेदनसँगै अब उक्त बहुचर्चित भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतको निर्णयले आगामी कानुनी प्रक्रिया तय गर्ने अपेक्षा गरिएको छ।