विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन्। सुन्दरहरैँचा–२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारीको शव सोमबार बिहान स्थानीयले फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अधिकारीको शव हिमाल चोक नजिकै सडक छेउको नालीमा घोप्टो परेको अवस्थामा भेटिएको हो। सूचना प्राप्त हुनासाथ इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो र अनुसन्धान सुरु गरिएको छ।
प्रहरीका प्रारम्भिक अनुसन्धान अनुसार मृतक रातको समयमा साइकल चढेर घर फर्किने क्रममा नालीमा खसेको हुनसक्ने अनुमान गरिएको छ। घटनास्थल नजिकै एउटा साइकलसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नाली गहिरो भएका कारण लडेपछि उठ्न नसक्दा मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।