विराटनगर, चैत ११ गते ।
विश्व हिन्दू परिषद् नेपाल, युवा विभाग विराटनगरले यस वर्षको राम नवमी र हनुमान जयन्तीलाई अत्यन्तै उल्लासमय र भव्य रूपमा मनाउने तयारी गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलन कार्यक्रम मार्फत जानकारी दिएको हो।
राम नवमीको पावन अवसरमा आगामी चैत १३ गते शुक्रबार विराटनगरमा एक भव्य बृहत बाइक र्याली आयोजना गरिनेछ। यस र्यालीले नगरका विभिन्न भागहरूको परिक्रमा गर्दै उत्सवको सन्देश फैलाउने लक्ष्य राखेको छ। त्यस्तै हनुमान जयन्तीको अवसरमा आगामी चैत १९ गते बिहीबार बेलुका ४ बजे पछि विभिन्न कलात्मक झाँकी सहितको विशेष र्याली निकालिनेछ। यो र्याली विराटनगरको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट सुरु भई ट्राफिक चोक, महेन्द्र चोक (हाइवे), भृकुटी चोक हुँदै पुनः पञ्चमुखी मन्दिरमै पुगेर समापन हुनेछ।
कार्यक्रमका संयोजक समेत रहेका आलोक साहले शोभा यात्रा र र्यालीमा सहभागी हुने सम्पूर्ण श्रद्धालु भक्तजन तथा युवाहरूलाई ट्राफिक नियमको पूर्ण पालना गरिदिन विशेष आग्रह गरेका छन्। साहले उत्सवलाई मर्यादित र व्यवस्थित बनाउन सबैको सहयोगको अपेक्षा आग्रह गरेका छन्।
विराटनगरको धार्मिक र सांस्कृतिक पहिचानलाई झल्काउने यी कार्यक्रमहरूमा सम्पूर्ण नगरवासी तथा धर्मानुरागीहरूलाई सक्रिय सहभागिताका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।