अमेरिका–इरान वार्ताका संकेतबीच इरानको मिसाइल आक्रमण

0 Shares

अमेरिका र इरानबीच सम्भावित वार्ताको संकेत देखिँदै गएको अवस्थामा इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका विभिन्न लक्ष्यतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ। यस घटनाले कूटनीतिक पहल अघि बढिरहे पनि क्षेत्रीय सैन्य तनाव भने अझै चर्किँदै गएको स्पष्ट पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग संवाद भइरहेको संकेत दिएका छन्। वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिका इरानसँग ‘वार्तामा रहेको’ बताएका हुन्। तर इरानी पक्षले औपचारिक रूपमा यस्तो कुनै वार्ताको पुष्टि गरेको छैन। ट्रम्पले इरानका हालिया कदमलाई सकारात्मक रूपमा व्याख्या गर्दै ‘ठूलो मूल्यको उपहार’ प्राप्त भएको उल्लेख गरे, यद्यपि यसको विस्तृत जानकारी दिएका छैनन्।

विश्वको करिब पाँचौँ हिस्सा कच्चा तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज केही समयअघि इरानले अवरुद्ध गरेको थियो। तर पछिल्लो समय तेहरानले ‘गैर–शत्रुतापूर्ण जहाजहरू’लाई सुरक्षित मार्ग दिने सन्देश दिएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा केही राहत ल्याउँदै कच्चा तेलको मूल्य छ प्रतिशतभन्दा बढीले घटेको छ।

न्युयोर्क टाइम्सका अनुसार अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे शान्ति प्रस्ताव पठाएको छ, जसमा युद्ध अन्त्यका लागि मध्यस्थताको पहल समावेश छ। तर यस योजनामा इजरायलको भूमिका कति रहेको छ भन्ने स्पष्ट छैन।

यसैबीच ट्रम्पले इरानलाई ‘कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नदिने’ विषयलाई सम्भावित सम्झौताको मुख्य आधारका रूपमा दोहोर्‍याएका छन्। सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि उत्पन्न अविश्वासका बीच नयाँ सहमतिको प्रयास भइरहेको देखिन्छ।

यद्यपि कूटनीतिक प्रयास जारी रहे पनि सैन्य गतिविधि भने उस्तै तीव्र छन्। द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले मध्यपूर्वमा थप तीन हजार सैनिक पठाउने तयारी गरिरहेको छ, जसले तनाव थप बढ्न सक्ने संकेत दिएको छ।

इरानको रिभोलुसनरी गार्ड्सले इजरायलतर्फ मिसाइलहरूको नयाँ लहर प्रहार गरेको दाबी गरेको छ। साथै कुवेत, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाइएको जनाएको छ। इरानले यी आक्रमणलाई अमेरिका र इजरायलको कारबाहीको प्रतिउत्तरका रूपमा व्याख्या गरेको छ।

कुवेतमा ड्रोन आक्रमणपछि इन्धन ट्यांकीमा आगलागी भएको भए पनि क्षति सीमित रहेको जनाइएको छ। बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको थियो भने जोर्डनको राजधानी अम्मान नजिक छर्रा खसेको रिपोर्ट आएको छ, तर मानवीय क्षति भएको छैन। साउदी अरेबियाले पनि आफ्नो पूर्वी क्षेत्रमा चार ड्रोन खसालेको जनाएको छ।

उता, इजरायलले इरानबाट भएको मिसाइल प्रहारपछि ‘इरानी पूर्वाधार’माथि थप आक्रमण सुरु गरेको जनाएको छ। इरानले भने बुसेहरस्थित नागरिक आणविक केन्द्रमा इजरायलले दोस्रोपटक आक्रमण गरेको आरोप लगाएको छ, जुन अत्यन्त संवेदनशील ऊर्जा संरचना मानिन्छ।

युद्ध अन्त्यका संकेत देखिएसँगै विश्व बजारमा केही सकारात्मक प्रभाव देखिए पनि क्षेत्रीय सुरक्षा अवस्था अझै अस्थिर नै छ। फ्रान्सका राष्ट्रपति  इमानुएल म्याक्रोनले पनि इरानलाई इमानदारीपूर्वक वार्तामा सहभागी हुन आग्रह गर्दै कूटनीतिक समाधानको आवश्यकता दोहोर्‍याएका छन्।-रासस

सम्बन्धित समाचारसबै