निर्वाचन परिणाम जादुमय र अपत्यारिलो भएको ओलीको टिप्पणी

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई ‘जादुमय’ भएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

ओलीले निर्वाचन सकिएको सन्दर्भमा अहिले नै विस्तृत टिप्पणी गर्ने समय नभएको उल्लेख गर्दै पनि परिणाम अनपेक्षित, अस्वाभाविक र अपत्यारिलो देखिएको बताए। उनले भने, “भर्खरै निर्वाचन सकिएको छ। अहिले निर्वाचन प्रक्रिया र परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन। तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ।”

उनले निर्वाचनका क्रममा एमालेविरुद्ध सुनियोजित रूपमा गलत प्रचार गरिएको आरोप पनि लगाए। ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यप्रति असहमत शक्तिहरूले कुप्रचार गर्दै देशमा घृणाको राजनीति फैलाएको उनको दाबी थियो। त्यस्ता शक्तिहरूलाई विभिन्न पक्षबाट सहयोग प्राप्त भएको समेत उनले उल्लेख गरे।

ओलीले नव–निर्वाचित सांसदहरूलाई सत्य र जनताको पक्षमा दृढतापूर्वक काम गर्न निर्देशन दिँदै पौराणिक उदाहरण प्रस्तुत गरे। उनले कौरव र पाण्डवको सन्दर्भ दिँदै भने, “कौरवको सेना ठूलो र असाधारण थियो, पाण्डवको सेना सानो थियो। तर अन्ततः नतिजा सत्यको पक्षमा आयो। सत्यको पक्षमा नै आउँछ।”

उनले एमाले सधैं देश, जनता, शान्ति, सुशासन र विकासका पक्षमा प्रतिबद्ध रहेको दोहोर्याउँदै आगामी दिनमा पनि यही मार्गमा अघि बढ्ने बताए।

सम्बन्धित समाचारसबै