खड्काद्वारा कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

0 Shares

काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा खड्काले मंगलबारका लागि बैठक आह्वान गरेका हुन्।

सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार केन्द्रीय कार्यसमितिको बैठक धुम्बाराहीस्थित एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बस्ने तय भएको छ। खड्कानिकट स्रोतले पनि बैठक बोलाइएको पुष्टि गरेको छ।

१४औं महाधिवेशनबाट निर्वाचित एक केन्द्रीय सदस्यले पनि आफूलाई बैठकको जानकारी प्राप्त भएको बताएका छन्। बैठकपछि प्रदेश र जिल्ला सभापतिहरूको भेला समेत बोलाउने तयारी भइरहेको स्रोतको भनाइ छ।

यसअघि खड्काले १४ चैतमा ठमेलमा पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए, जसमा विशेष महाधिवेशनलाई अस्वीकार गर्ने नेताहरू सहभागी थिए। उक्त छलफलपछि खड्काले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका थिए।

उनले आगामी परिस्थितिको सामना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन अपिल समेत गरेका छन्। यद्यपि, वक्तव्य जारी गरेपछि कांग्रेसभित्र खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल सुरु भएको छ।

सम्बन्धित समाचारसबै