जेनजी आन्दोलन दमन प्रकरणमा तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंका सीडीओ थिए। गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा दमन गरेको आरोप उनीमाथि लागेको छ। आन्दोलनपछिको विवादका कारण उनी एक महिना नपुग्दै सीडीओ पदबाट बाहिरिएका थिए।

रिजाल तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लेखक यसअघि नै पक्राउ परिसकेका छन्।

आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउन मौखिक आदेश दिएको तर सिधै गोली चलाउन निर्देशन नदिएको दाबी गरेका छन्।

रिजाल सीडीओ बन्नुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए। सो अवधिमा कर्मचारी सरुवा–पदस्थापनमा अनियमितता गरेको आरोपसमेत उनीमाथि लागेको छ। अख्तियारले विशेष अदालतमा दर्ता गरेको विवरणअनुसार उनीमाथि भ्रष्टाचार सम्बन्धी अनुसन्धान पनि जारी रहेको छ।

यस प्रकरणमा बद्री तिवारी, जनक भट्ट, गोकर्णमणि दुवाडी र तीर्थराज भट्टराई लगायतसँग सम्बन्धित गतिविधिबारे पनि छानबिन भइरहेको जनाइएको छ।

सम्बन्धित समाचारसबै