केपी शर्मा ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन घोषणा

0 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।

पार्टीका महासचिव शंकर पोखरेल ले बैठकपछि जानकारी दिँदै चैत २४ गतेदेखि विभिन्न तहका कमिटीमार्फत आन्दोलन सुरु गरिने बताए। उनका अनुसार पहिलो चरणमा सोही दिन देशभरका जिल्ला कमिटीहरूले वृहत् कार्यकर्ता भेला आयोजना गर्नेछन्।

त्यसपछि आन्दोलनलाई थप विस्तार गर्दै पालिका, वडा र प्रदेश तहसम्म कार्यक्रम सञ्चालन गरिनेछ। वैशाख ३ गते वडा तहमा भेला आयोजना गर्ने र वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए।

आन्दोलनको अन्तिम चरणस्वरूप वैशाख १२ गते काठमाडौंमा केन्द्रित ठूलो विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने निर्णय गरिएको एमालेले जनाएको छ।

महासचिव पोखरेलका अनुसार चरणबद्ध रूपमा सञ्चालन हुने यी कार्यक्रममार्फत पार्टीले आफ्नो विरोधलाई सशक्त रूपमा प्रस्तुत गर्ने र देशव्यापी जनसमर्थन जुटाउने लक्ष्य लिएको छ।

एमालेले अध्यक्ष ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कदम भएको दाबी गरेको छ। पार्टीले आन्दोलनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उक्त कदम सच्याउन दबाब दिने रणनीति अघि सारेको छ।

सम्बन्धित समाचारसबै