एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी

0 Shares

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका छन्। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा उनले औपचारिक रूपमा आफ्नो आकांक्षा व्यक्त गरेका हुन्।

बैठकमा बोल्दै नेम्बाङले पार्टीको विधि, पद्धति र वरिष्ठताक्रमप्रति आफू पूर्ण रूपमा जानकार र सम्मानजनक रहेको स्पष्ट पारे। तर वर्तमान राजनीतिक परिस्थिति र जनभावनाअनुसार अबको आवश्यकता युवा नेतृत्व भएको उनले जोड दिए।

उनले प्रतिस्पर्धामार्फत उत्कृष्ट नेतृत्व चयन गर्ने पार्टीको सिद्धान्तलाई स्मरण गराउँदै लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्दै आफ्नो उम्मेदवारी स्वाभाविक भएको बताए। “अहिलेको जनभावना र देशको आवश्यकता अनुसार मैले आफ्नो इच्छा व्यक्त गरेको हुँ,” उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिए।

नेम्बाङले देशको वर्तमान परिस्थितिलाई गम्भीर रूपमा मूल्यांकन गर्न पार्टी नेतृत्वलाई आग्रह गरे। उनले संसद्भित्र र बाहिर देखिएको अवस्थालाई ध्यानमा राख्दै नयाँ सोच र ऊर्जासहितको नेतृत्व आवश्यक रहेको तर्क राखे।

युवा नेतृत्वको वकालत गर्दै उनले अग्रज नेताहरूको भूमिकालाई अस्वीकार नगरेको स्पष्ट पारे। “मेरो भनाइ अग्रजहरूले गर्न सक्नुहुन्न भन्ने होइन, अहिलेको आवश्यकता युवाको ऊर्जा र अग्रजको अनुभव तथा आशीर्वादको समन्वय हो,” उनले भने।

यसअघि सिंहदरबारमा सांसद पदको शपथ ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पनि नेम्बाङले संसदीय दलको नेता बन्ने तयारीमा आफू रहेको बताएका थिए। “पार्टीले अगाडि बढ भन्छ भने म पछि हट्दिनँ,” उनले बताएका थिए।

नेम्बाङको दाबीले एमालेभित्र संसदीय दलको नेतृत्व चयन प्रक्रिया थप प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।

सम्बन्धित समाचारसबै