नेपाल टेलिकममा सेवा सुधार अभियान: डाटा प्रणालीदेखि डिजिटल सेवासम्म व्यापक परिवर्तन

0 Shares

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल टेलिकम मा सुधारका प्रयास सुरु गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना को निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो।

सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ, जसमा नेपाल टेलिकमको सेवा सुधारलाई उच्च प्राथमिकतामा राखिएको छ। यस योजनाअन्तर्गत ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार तथा प्रशासनिक प्रक्रियामा सुधार गर्ने लक्ष्य लिइएको छ।

लामो समयदेखि उठ्दै आएको डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्यालाई अन्त्य गरिएको छ। अब ग्राहकले थप पारदर्शी विकल्प पाउनेछन्। नयाँ व्यवस्थाअनुसार डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ। साथै पे एज यू गो (PAYG) प्रणाली लागू गरिनेछ, जसले प्याकेजबिना पनि आवश्यकताअनुसार इन्टरनेट प्रयोग गर्न सकिने सुविधा दिनेछ। ग्राहकले नयाँ प्याकेज लिने वा PAYG मोडमा जाने भन्ने निर्णय आफैँ गर्न सक्नेछन्।

नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धर का अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको छ र केही दिनभित्रै पूर्ण रूपमा लागू हुनेछ। यूएसएसडीमार्फत खरिद गरिने डाटा प्याकमा तीनदेखि पाँच दिनभित्र र मोबाइल एपमार्फत सातदेखि १० दिनभित्र यो सुविधा कार्यान्वयनमा आउने जनाइएको छ।

ग्राहक सेवा सरल बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू गरिने भएको छ। यसअन्तर्गत ग्राहकले एकपटक विवरण बुझाएपछि पुनः कागजात पेश गर्नुपर्ने झन्झट अन्त्य हुनेछ। हाल सिम लिन, नवीकरण गर्न वा अन्य सेवा लिन बारम्बार कागजात पेश गर्नुपर्ने समस्या रहेको थियो। यो प्रणाली आगामी ३० दिनभित्र लागू गर्ने लक्ष्य राखिएको छ।

डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै टेलिकमले ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी तीव्र बनाएको छ। यसले विशेषगरी दुर्गम क्षेत्रका ग्राहकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

ग्राहक सेवा सुधारका लागि ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना पनि अघि सारिएको छ। यसअनुसार टेलिकमका सबै कार्यालयमा यस्तो कक्ष रहनेछ, जहाँबाट ग्राहकले एकै ठाउँमा आफ्ना सबै समस्या समाधान गर्न सक्नेछन्।

यससँगै, देशभर फोर जी नेटवर्क सेवाको गुणस्तर सुधार गर्ने कार्य पनि अघि बढाइएको छ। हाल विभिन्न स्थानमा सेवा कमजोर रहेको गुनासोलाई ध्यानमा राख्दै थप फ्रिक्वेन्सी उपलब्ध गराउने र नीतिगत व्यवस्था परिमार्जन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सञ्चार मन्त्रालयले आगामी ३० दिनभित्र आवश्यक नीतिगत सुधार सम्पन्न गरी सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य राखेको छ ।  नेपाल टेलिकममा सुरु गरिएको यो सुधार अभियानले ग्राहक अनुभवलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ। अब यसको प्रभावकारिता भने कार्यान्वयनपछि मात्रै स्पष्ट हुने देखिन्छ।

सम्बन्धित समाचारसबै