काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुने भएको छ। ‘मिनी संसद्’ का रूपमा चिनिने यी समितिहरूको नेतृत्व चयनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।
सार्वजनिक कार्यक्रमअनुसार बिहीबार अपराह्न १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्ताव दर्ता गर्दा सम्बन्धित समितिकै एक जना सदस्य प्रस्तावक र अर्का एक जना सदस्य समर्थक हुनुपर्ने व्यवस्था रहेको छ। यसबारे जानकारी दिँदै सङ्घीय संसद् (प्रतिनिधिसभा)का सचिव हर्कराज राईले निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेका छन्।
त्यसै दिन अपराह्न ४ः३० बजेसम्म दर्ता भएका प्रस्तावहरूको दर्ताक्रमअनुसार सूची प्रकाशित गरिनेछ। शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले त्यसको समर्थन गर्ने र अन्ततः उक्त प्रस्ताव निर्णयार्थ पेश गरिनेछ।
यदि कुनै सदस्य एकभन्दा बढी समितिमा रहेको अवस्थामा मन्त्रीसमेत रहेका छन् भने सभापतिको निर्वाचनमा मतदान गर्ने विषयमा अन्योल हुन सक्ने भएकाले त्यस्तो अवस्थामा मतदान गर्ने समितिबारे निर्वाचन हुनुभन्दा कम्तीमा २४ घन्टा अगावै सम्बन्धित समितिलाई लिखित जानकारी गराउन सचिवालयले अनुरोध गरेको छ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा १० वटा विषयगत समिति, राष्ट्रियसभामा चार वटा समिति तथा दुई वटा संयुक्त समिति रहेका छन्। प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति रहेका छन्।
त्यस्तै, संयुक्त समितिहरूमा संसदीय सुनुवाइ समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन्।